मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधीस्थानीय

अनुमति बिना ड्रोन उडाएमा के कारबाही हुन्छ ?

कालीकाेट- सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रुपमा मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग बढ्दै गएकाे देखिन्छ । सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी यसको उडान अनुमति सम्बन्धी व्यवस्था गरेको छ ।

यदि तपाईंले सरकारी नियम थाहा नपाएरै ड्रोन उडाइरहनु भएको छ भने कानूनी झमेलामा पर्न सक्नुहुन्छ । अहिलेको समयमा विश्वव्यापी रुपमा कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, भूगोल, कला, संस्कृति, मनोरञ्जन, विकास, विपत व्यवस्थापन, सूरक्षा तथा संचार जस्ता क्षेत्रमा ड्रोनको प्रयोग बढ्दो छ ।

अध्ययन, अनुसन्धान, सूचना संकलन, सर्वेक्षण तथा नक्साङ्कन एवम् छायाङ्कन गर्ने उद्देश्यले पनी ड्रोनको प्रयोग बढ्दै गएपछि सरकारले यसलाई व्यवस्थित गर्ने प्रयास गरेको हो ।

कुन कुन क्षेत्रमा ड्रोन उडाउन पाइँदैन ?

गृह मन्त्रालयको कार्यविधिले सरकारी निकाय, कुटनीतिक नियोग, प्रतिष्ठान रहेको इलाका, अस्पताल, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्वको इलाका, हवाई मार्ग तथा हवाई उड्डययन सञ्चालन क्षेत्र, सैनिक तथा सुरक्षा निकाय रहेको क्षेत्रलाई ड्रोन उडानका लागि संवेदनशील क्षेत्रको रुपमा राखेको छ ।

यसैगरी बस्ती, समुदाय, संरक्षित तथा आरक्षित क्षेत्रलाई मध्यम र मानव बस्तिरहित, संरक्षित वा नियन्त्रित क्षेत्र बाहेकका खुल्ला क्षेत्रलाई सामान्य क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । यसका साथै विमानस्थल, उचाई सुरक्षित गरिएका हवाई मार्ग र अन्तर्राष्ट्रिय सीमानाको पाँच किलोमिटर क्षेत्रमा ड्रोन उडाउन पाइन्न ।

सुरक्षा निकायको मुख्यालय तथा तालिम केन्द्र रहेको स्थानबाट एक किलोमिटरको दुरी र अन्य सुरक्षा इकाईबाट आधा किलोमिटरको दुरीमा समेत ड्रोन निषेध छ । उपत्यका बाहिरको हकमा स्थानीय प्रशासन तथा अधिकार प्राप्त निकायले निर्धारण गरेका धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा नियन्त्रित क्षेत्रहरुमा ड्रोन उडाउन रोक लगाइएको छ ।

यदि निषेधित क्षेत्रमा ड्रोन उडाएको खण्डमा सुरक्षा निकायले त्यसलाई जफत गरी कानून अनुसार कारबाही गर्न सक्छ ।

व्यवसायिक ड्रोन उडान गर्न पाइलटको लाइसेन्स चाहिने

नेपालको कानून अनुसार ड्रोन उडान गर्न जोकसैले पाउँदैन । यसका लागि १८ वर्ष उमेर पुरा गरेको र रेडियो फ्रिक्वेन्सी सम्बन्धी आधारभूत ज्ञान तथा तालिम प्राप्त गरेको हुनुपर्दछ । यसका साथै उडान उपकरण सम्बन्धी आधारभूत ज्ञान सिप समेत हुन आवश्यक छ । व्यवसायिक रुपमा ड्रोन उडान गर्न चाहने व्यक्तिको योग्यता पुगेको वा नपुगेको विषयमा नागरिक उड्डययन प्राधिकरणले मूल्याङ्कन र परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

राती उडान गर्न नपाइने

ड्रोन उडाउने समय बिहान सूर्योदयदेखि सूर्यास्तसम्मको दिउँसोको समयमा मात्रै ड्रोन उडाउन सकिने कानूनी व्यवस्था छ । यसका साथै ग्राउन्ड भिजिबिलिट पाँच किलोमिटर र क्लाउड सिलिङ ४५० मिटर न्यूनतम हुनुपर्दछ । यस बाहेक पानी, असिना, हिमपात, चट्याङ नभएको अवस्था हुनुपर्दछ भने हावाको बहाव १० केनोट्सभन्दा बढी हुनुहुँदैन ।

साथै उडानका लागि उडान अनुमतिपत्र समेत जरुरी हुन्छ । दुई केजीसम्म तौल भएका ड्रोनहरु जमिनको सतहबाट २०० फिटसम्मको उडान अनुमतिपत्रका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र अन्यको हकमा गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ ।

अनुमति बिना ड्रोन उडाउनै पाइन्न त ?

पाइन्छ तर यसका लागि निश्चित सीमाहरु तोकिएका छन् । कुनै शैक्षिक अध्ययन केन्द्र वा विश्वविद्यालयको परिधिभित्र सम्बन्धित शैक्षिक संस्थाको पूर्व स्वीकृति लिएर बढीमा दुई केजी सम्म तौल भएका ड्रोनलाई अधिकतम २०० फिट उचाईसम्म उडाउनका लागि अनुमति आवश्यक पर्दैन ।

यस्तो क्षेत्रमा उडान गर्नु अघि नजिकैको प्रहरी वा सुरक्षा इकाईलाई अनिवार्य रुपमा जानकारी गराउनु पर्दछ । व्यक्तिगत गोपनीयतामा आँच पुग्नेगरी उडान गर्न पाइँदैन ।

व्यक्तिगत तवरबाट आयोजना गरिने कार्यक्रम, सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व एवम् उत्सवहरुमा मनोरञ्जन प्रयोजनका लागि आफ्नो घर वा क्षेत्रभित्र स्थानीय प्रहरीलाई जानकारी गराएर २५० ग्रामसम्म तौल भएको ड्रोनलाई बढीमा ४० फिट माथि सम्म उडाउन पाइन्छ ।

सुरक्षा निकायले माग गरेको खण्डमा ड्रोन मार्फत खिचिएको भिडियो तथा फोटो भने उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

अनुमति बिना ड्रोन उडाएमा के कारबाही हुन्छ ?

सरकारी नियम विपरित ड्रोन उडाएको खण्डमा नागरिक उड्डययन प्राधिकरण ऐन तथा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनसक्छ । अनुमति नलिई ड्रोन उडान गरेको खण्डमा अनधिकृत ड्रोन जफत गरिने व्यवस्था ड्रोन सम्बन्धी कार्यविधिमा छ ।

ड्रोन उडानबाट कुनै व्यक्तिको गोपनीयताको हक हनन भएको खण्डमा वा वैयक्तिक रुपमा क्षति पुगेको भए पीडित पक्षको निवेदनमा कानून अनुसार कारबाही हुन सक्छ ।

कार्यबिधि हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button