तीन दिन देखि कर्णाली राजर्माग अवरुद्ध, खुलाउने तयारी हुदै

कालीकोट–कालीकोटको शुभकालीका १ गगनेखोलामा गएको पहिरोले तीन दिन देखि कर्णाली राजमार्ग अवरुद्ध छ । कर्णाली राजमार्ग गएको पहिरो हटाइ राजमार्ग सूचारु गर्न सडक डिभिजन कार्यालय जुम्लाले जेसिबि र स्काभेटर मेसिनको प्रयोग गरिरहेको छ ।
सडकमा खसेको ठुलो ढुंगा हटाउन प्रयोग गरिएका मेसिने सम्भव नभएपछि आज नेपाली सेनाको सहयोगमा ढुंगा बलास्टिग गरेर सडक खुलाउने तयारी भइरहेका सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख इन्जिनियर राजिव श्रेष्ठले बताउनु भयो । सडक अवरुद्ध भएपछि जुम्ला, मुगु र कालीकोटबाट सर्खेत, नेपालगंज, काठमाडौ लगायतका जिल्लामा स्याउ लिएर जाँदै गरेका गाडीहरु बाटोमै अलपत्र परेका छन् ।
त्यस्तै सुर्खेत, नेपालगंज, काठमाडौ र देशका अन्य स्थानबाट कालीकोट, जुम्ला, हुम्ला, बाजुरा, मुगु लगायतका जिल्लामा जान हिडेका यात्रुहरु अलपत्र परेका छन् । कालीकोटबाट सुर्खेत जान हिडेका ब्यापारी दिनेश शाही आइतबार दिन भर गगनेखोलामा रोकीएपछि बेलुकी कालीकोट मान्म बजार फर्किएका छन् ।
सुर्खेत जुम्ला सडक खण्डको गगने खोलामा बर्सेनी पहिरो जाने भएकाले यहाँ नागरिकले सास्ती खेप्नु परेको छ । जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटले पहल गरिरहेको बताएपनि तीन दिन सम्म राजमार्ग खुल्न नसकेपछि यात्रुहरुले आक्रोस ब्यक्त गरेका छन् ।