
कालीकोट– कालीकोट जिल्लालाई ६८ औं साक्षर जिल्ला घोषणा गरिएको छ । कालीकोट कर्णाली प्रदेशकाे ९ औं साक्षर जिल्ला घोषणा भएको छ। साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान, भन्ने मुल नाराका साथ कालीकोटलाई बिहीबार साक्षर जिल्ला घोषणा गरिएको हाे ।
जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाहीको अध्यक्षता र संविधानसभा सदस्य तुलाराज विष्टको प्रमुख आतिथ्यमा जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, शैक्षिक सरोकारवाला, शिक्षक, अभिभावक, बालबालिकाको सहभागितामा साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईले बताउनु भयो ।
गत असारभित्र जिल्लाका ९ वटै स्थानीय तह साक्षर पालिका घोषणा पश्चात् बिहीबार जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सफल भएको इकाई प्रमुख चौलागाईले बताउनु भयो । साक्षरताका लागि १५ देखि ५९ बर्ष उमेर समूहलाई आधार मानेर साक्षरता अभियान सञ्चालन गरिएको थियो । ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्याङ्कका आधारमा साक्षर जिल्ला घोषणा गरिएको पलाता गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताउनु भयो ।