ट्रकको ठक्करबाट शाहीकाे मृत्यु: शुक्रबार कर्णाली राजमार्ग बन्दको घोषणा

कालीकाेट- कर्णाली राजमार्ग अन्तरगत दैलेखको रामघाटमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएका युवकको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–११ बर्ष १८ का एडमन शाही बुधबार अपराह्न करिब ४:३० बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पुर्याएपछि मृत्यु भएको हो।
शाही सवार मोटरसाइकललाई ना ७ ख ७२३८ नम्बरको ट्रकले रामाघाटस्थित पुलमै ठक्कर दिएको आफन्तले बताएका छन् । शाही लाइ ट्रकले किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनालगत्तै उनलाई तत्काल राकमस्थित स्थानीय स्वास्थ्य चौकी पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि सुर्खेत पठाइएकाे र चिकित्सकहरूले उनलाई मृत घोषणा गरेकाे आफन्तले बताएका छन्।
घटनापछि मृतक शाहीलाई न्याय दिलाउन माग गर्दै आफन्तहरुले सुर्खेत र कालीकाेटमा प्रदर्शन समेत गरेका छन् । साथै शुक्रबारका कर्णाली राजमार्ग बन्दको घोषणा गरेका छन्।
यातायात व्यवसायीहरुले उल्टै पिडित पक्षलाई थप पिडा पुग्ने गरी धाकधम्की दिन थालेको र दोषीलाई उम्काउन खोजेको भन्दै मृतकका आफन्तले आन्दोलन घोषणा गरेका हुन् । प्रदर्शनको क्रममा सुर्खेतबाट बाहिर जाने सम्पूर्ण यातायातका साधनहरु बन्द गरिने पिडित पक्षले जनाएको छ।
बिहिबार मध्यपश्चिम ट्रक व्यावसायी संघ संग भएकाे छलफलमा पिडितलाई सान्त्वना दिनुको सट्टा ‘जे सकिन्छ गरे हुन्छ, ३५ दिनमा गाडी चालकलाई निकालिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि आफुहरुलाई झन् पीडा पुगेको मृतकका मामा प्रकाश बमले बताउनु भयाे । ट्रकको ठक्करले घाइते मात्रै भएका भान्जालाई चालकले फेरी टायरले किचेर हत्या गरेको बमकाे आराेप छ।