कालीकोट– अछामको कमलबजार देखि दैलेखको साँइखोला जोडीने ३३ केभी प्रसारण लाइन विस्तारको काम बिहिबार सूचारु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका ४ साँइगाउँका स्थानीय बासिन्दाले आफ्ना गाउँमा विद्युत् नबाल्दासम्म लाइन विस्तार गर्न नदिने अडान राखेपछि अवरुद्ध भएको बिद्युत बिस्तारको काम सहमतीपछि पुनः सुचारु भएको हो । स्थानीयसँगको छलफल र सहमतिले तत्काललाई समस्या समाधान भएको कालीकोट विद्युत वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादव बताउनु भयो ।
पञ्चदेवल विनायक नगरपालिका–३ बेल्खेत सयनगाउँ र वडा–४ टोड्केसालका बासिन्दाले आफ्नो क्षेत्रका बस्तीहरूमा विद्युत आपूर्ति सुनिश्चित गर्न माग गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले आवश्यक पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराइ एक महिना भित्र साँइगाउँ, टोट्केसाल र सयनमा बत्ती बाल्ने सहमतीपछि स्थानीयले काम गर्न सहमति दिएकाे कालीकोट वितरण केन्द्रका फ्राेरमेन जय प्रसाद पाण्डेले बताए ।
मुगु, जुम्ला र कालीकोटमा बिद्युत बढी खपत हुने भएपछि कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुदै कमलबजार जोड्ने ३३ केभी प्रसारण लाइन प्रयोगमा ल्याएको हो ।
डडेलधुरा–अत्तरियाबाट चमेलिया जलविद्युतको १९ मेगावाट, बझाङको कलंगा खोलाको ६५ मेगावाट, र अपि हाइड्रोको ५ मेगावाट गरी करिब १०० मेगावाट विद्युत आयात भइरहेको छ । नयाँ लाइन विस्तारसँगै कर्णालीका दुर्गम गाउँका स्थानीय उज्यालोमा बस्न पाउने आसा पलाएकाे पत्रकार ललित बिष्टले बताएका छन् ।