मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

निर्माण सुरु भएको ३८ बर्षपछि, सुनथराली बिमान स्थल उद्घाटन

कालीकोट– सुनथराली विमानस्थलको उद्घाटन गरिएको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नागरिक उड्डयनमन्त्री सुदन किरातीले पानसमा बत्ती बालेर उद्घाटन बिमान स्थलको गरेका हुन् । आज विमानस्थलमा नेपाल एयरलाइन्स र यति एयरलाइन्सका दुई वटा विमान अवतरण भएका छन् । सुनथराली विमानस्थल निर्माण गर्न झन्डै ३८ वर्ष लागेको छ । निर्माण पूरा भएको डेढ वर्षमा उद्घाटनको मिति तीन पटक तय गरिएको थियो । तीनै पटक उद्घाटनको भाका नाघेपछि चौथो पटक उद्घाटन भएको हो । आज सोमबार नेपाल एयरलाइन्सको जहाजमा मन्त्री खड्का सहित कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशका पुर्ण मुख्यमन्त्री जीवन बहादुर शाही, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा माननीय हिक्मत बहादुर बिष्ट बिमान स्थल उद्घाटन गर्न कालीकोट पुगेका हुन् ।

हिजो नेपालगंज बाट उडेको सिता एयरको जहाजले सुनथराली विमानस्थलको प्रमाणित उडान सफलता पुर्वक सम्पन्न गरेपछि आज नेपाल एयर लाइस र तारा एयर लाइसको जहाजले सुर्खेत बाट उडान गरेको नहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनु भयो । पहिलो पटक कच्चीधावन मार्ग हुँदा २०७३ माघ २९ गते माननीय जीवन बहादुर शाहीको पहलमा तारा एयरको जहाज अवतरण भएको थियो ।

विमानस्थल बने पनि त्यहाँ पुग्ने पक्की सडक, सदरमुकाम मान्मबाट पारि कोटवाडा जोड्ने केबुलकार निर्माण भएपछि मात्र विमानस्थल पुग्न सहज हुने भएकाले अझै थप प्रयास गर्नुपर्ने कालीकोटका प्रदेश सांसद हिक्मतबहादुर विष्टले बताए । केबुलकार निर्माणका लागि १ अर्ब १४ करोड लागतको डीपीआर बने पनि स्रोत नहुँदा काम गर्न कठिनाइ छ । सुरुमा कर्णाली प्रदेश सरकारले ५० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत र अन्य निकायबाट २५ प्रतिशत रकम जुटाउने योजना बनाए पनि मुख्यमन्त्री शाही हटेपछि योजना पनि अलपत्र परेको सासंद विष्टले बताए ।

कर्णालीका हुम्ला, जुम्ला, मुगु र डोल्पामा विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आए पनि कालीकोटको विमानस्थल भने आजबाट सञ्चालनमा आउने बताइएको छ ।
द्धन्द्धका बेला विमानस्थलमा काम गरिरहेका स्थानीय ७ जनासहित धादिङ्ग, काभ्रे, सिन्धुली र रामेछापबाट आएका ३५ जनाको तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो । ती मध्ये धादिङ्ग जोगिमाराका १७ जना चेपाङ्ग परेका थिए । ०५८ को फागुनमा तत्कालीन नेकपा माओवादीले अछामको सदरमुकाम मंगलसेन आक्रमण गरेपछि दोषी खोज्दै आएको सेनाको हेलिकोप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएपछि सेनाले कामदारलाई माओवादी भन्दै लाम लगाएर गोली ठोकेको स्थानीय बताउन्छन् ।
‘कालीकोटमा विमानस्थल निर्माणको प्रक्रिया सुरु भएको ३८ वर्ष पुग्यो ।’ पूर्व जिविस उपसभापति तुलाराज बिष्टले पत्रकारसँग भने ‘पञ्चायती शासनकालमा ठाँउ विवादले काम भएन, बहुदलपछि पनि विमानस्थलले गति लिन सकेन ।’

बहुदलीय ब्यवस्थापछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पाँच वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ०४८ मा कोटवाडा विमानस्थलको काम सुरु गरे पनि ०५२ देखिको जनयुद्धले काम प्रभावित बन्न पुगेको थियो । सशस्त्र द्वन्द्वको बेला कोटवाडा विमानस्थल निर्माणको नाममा हवाई विभाग र ठेकेदारको मिलेमतोमा लाखौ रकम अनियमितता भएको विष्टको दावी छ ।
०४२ को जिल्ला परिषदले मतदानद्धारा सुनथराली विमान स्थल निर्माणका लागि मान्यता दिएको थियो । सुनथरालीको पक्षमा ६८ र सिप्टी विसालीको पक्षमा ८ मत परेको थियो ।

भौगोलिक विकटता, न्यून रकम विनियोजन हुनु र स्थानीय बासिन्दामा अपनत्वको भावना नहुनुजस्ता समस्यासँगै ०५२ देखि सुरू भएको सशस्त्र द्वन्द्वले विमानस्थल निर्माण अलपत्र परेको यहाँका जानकारहरु बताउँछन् । सशस्त्र द्वन्द्वको बढी प्रभाव त्यही क्षेत्रमै परेकोले पनि कामले गति लिन सकेको थिएन ।

 

 

 

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker