नरहरिनाथ गाउँपालिका: पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

कालीकाेट: नरहरिनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘स्थानीय दायित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शुक्रबार जिल्ला समन्वय समिति कालीकोटका प्रमुख तथा खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका हुन् ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीले बताउनु भयाे । गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको भेटघाट सर्वेक्षण गर्ने, उमेर अनुसार खोप पाए नपाएको एकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।
नरहरिनाथ गाउँपालिकाले उत्साह र उमङ्गका साथ काम गरेर पालिकालाई पूर्ण खोप बनाउन सहज भएकोबारे जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीले यो अभियानले निरन्तरता पाउनु ठूलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई, स्थानीय नागरिक धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि नरहरिनाथ गाउँपालिकाका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा ९० प्रतिशत खोप लगाएको भेटिएकाले पुर्ण खोप घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । यस अघि कालीकाेटकाे शुभकालीका र पचालझरना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घाेषणा गरिएकाे छ ।