बडिमालिका पूजाको लागि कालीकोटबाट सरकारी टोली प्रस्थान

कालीकाेट- कालीकोटको सरकारी टोली पूजाको डोली बोकेर शुक्रबार बाजुरास्थित बडिमालिका मन्दिर प्रस्थान गरेको छ। स्थानीय धर्म संस्कृती र परम्परा अनुसार सरकारी टोली पुजाआजा गर्न बडिमालिका मन्दिर तर्फ लागेको हो ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार लक्ष्मीरुद धितालको नेतृत्वमा मुख्य पुजारी हरिकृष्ण धमला सहित तीन जना पुजारी र अन्य स्थानीय दश जनाको सरकारी टोली बडिमालिका गएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईकाले जानकारी दिनु भयाे ।
पूजाआजा कार्यक्रम परम्परादेखि चलिआएको भएपनि पहिलाे पटक जिल्ला प्रशासन कार्यालयको मातहतबाट डोली र भेटी सहित सरकारी टोली माइको दर्शको लागि हिँडेको छ। बडिमालिका माताको मन्दिरमा पूजाआजा गरे मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत,सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल र स्थानीय भक्तजनहरूले भव्य रुपमा बिदाइ गरेका छन् ।
स्थानीयले आफ्नो मनको इच्छा पूरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन् । कालीकोटबाट लिएको अक्षता,फूलपाती बडिमालिकामा चढाइन्छ । बडिमालिकाको डोली पठाउन दर्शनालुहरु भेला लागेका थिए । यो सँगै यस वर्षको जात्रा औपचारिक रुपमा सुरु भएको छ। खालि खुट्टा डोली,पेटारो र पूजा सामग्रीसहित तयारी भएर प्रत्येक वर्ष बडिमालिका जाने गरेको पुजारी हरिकृण धमलाले बताउनु भयाे ।
हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ ।