मिति:- ९ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशज्ञानविज्ञानताजाखबरमुख्य खबरराष्ट्रियविचारसमाज

जुम्लाबाट एस.एल.सी उतिर्ण गरेर आएपछि………..

जर्मन- उ बेला म त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको प्रथम बर्षको पढाई! बसाई भने काठमाडौंको डिल्लिबजार स्थित कालिकास्थान मन्दिर नजिक!

जुम्लामा टेलिफोन अहिले जस्तो व्यापक भैसकेको थिएन ! आपतकालिन महत्वपुर्ण संचारको लागि ‘दुर संचार संस्थान’ बाट फोन वा ‘आकाशवाणी’ गर्नु पर्थ्यो भने अन्य साधारण संचारको लागि चिठिपत्र लेख्नु पर्थ्यो!
पढाइ खर्च जुम्लाबाटै पठाउनुपर्ने भएपनि पैसो पठाउन सजिलो र भरपर्दो माध्यम थिएन! अहिले जस्तो जुम्ला र काठमाडौं बिच न बस चल्थ्यो, न त हवाइजहाज! जस्ले गर्दा हाते गरेर कसै सङ्ग पैसा पठाउन सकिने अवस्था थिएन! उसैपनी जुम्ला र काठमाडौं आवतजावत गर्ने मान्छेहरु नै एकदम कम हुन्थे! कोहि भेटिएपनि दुबैलाई चिन्ने वा पैसो हातमा पुर्याउन सक्ने भन्ने संभावना नगन्य नै हुन्थ्यो!
समाधान चाहि राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर जुम्लाबाट उक्तखातामा पैसो पठाउन नै भरपर्दो र सजिलो हुनेभयो! मैले पुतलीसडक स्थित सिंहदरबार शाखामा खाता खोलेर कारोबार गर्न शुरु गरे! खाता खोल्न न्युनतम रु १,००० बचत गर्नेपर्ने हुन्थ्यो जस्ले गर्दा अनावश्यक पैसो बैंकमा फस्थ्यो भने आफुलाई पैसो नपुग्ने हुन्थ्यो!
पिताजी प्राथमिक विद्यालयको प्राधानाध्यापक! शिक्षकको तलब चौमासिक मात्रै प्राप्त हुनेहुनाले मैले पनि प्रायजसो चौमासिक नै पैसो प्राप्त गर्दथे! विचमा कुनै आवश्यक काम पर्दा भने पिताजीले नै जुम्लामै सरसापट गरेर पठाइदिनुहुन्थ्यो! नत्र भने त्यै चौमासिक पठाएको पैसाले नै खर्च व्यवस्थापन गर्नुपर्थ्यो!
पैसो पठाउन जुम्लाको बैंकमा पैसा जम्मा गरेपछी जुम्लाको बैंकले एउटा कोड दिएर पठाउने रहेछ अनि त्यो कोड आ.वा. गरेर सिंहदरबार स्थित बैंकमा बुझाएपछी जुम्लामा जम्मा गरेको रकम काठमाडौको मेरो खातामा जम्मा गरिदिने काम हुन्थ्यो! बैंकको प्रक्रियाले धेरै समय लाग्ने भएकोले जुम्लाबाट आ.वा. गर्नेकाम पिताजीले आफै गराउनुहुन्थ्यो भने त्रिपुरेश्वर स्थित दुर संचार बाट आ.वा. बोकेर काठमाडौं बैंकमा बुझाउने काम भने मेरो हुन्थ्यो!
कुरो २०५३ सालको असोज महिनाको, या भनौं दशैको समयको! शिक्षकको तलबको निकासाको अर्कै लफडा फेरि! जे जस्तो गरेर भएपनी आफै प्र.अ. भएपछी अलिक हतारो गर्न सकिने भने हुने रहेछ! पिताजीले सकेको चाडो गरेर दशै पेश्की सहित चौमासिक तलब त बुझ्नु भयो, मलाई पठाउने समय भने घर्किन लागिसकेको थियो! त्यसैले हतार हतार पैसा ट्रान्सफर गरेर असोज २८ गते आ.वा. गर्नुभएको रहेछ!
हुनत दशैको बेला मलाई जुम्ला जान मन त हुन्थ्यो तर काठमाडौबाट जुम्ला जान हुने टिकटको सास्ती नै हुन्थ्यो! साझा यातायातको बसमा नेपालगन्ज सम्म जसोतसो गएपनि नेपालगन्ज बाट जुम्ला जाने प्लेनको टिकट पाउने संभावना भने नगन्य हुने! त्यसमाथी एक चौमासिकको तलब सबै यातायातमै सकिने हुनाले मैले त्यो दशैमा जुम्ला नजाने निर्णय गरिसकेर पिताजीलाई पहिले नै भनिसकेको थिए! जुम्लामा परिवारको म बिनाको पहिलो दशै, यता काठमाडौमा मेरो परिवारबिनाको एक्लो दशै! दशै नलागुन्जेल त खासै केही भएन! पैसो कहिले आउला भन्ने मात्रै ध्यान रहेको थियो!
अफसोस, दशैको विदा शुरु हुनु अगाडी मेरो हातमा पैसो परेन! बैंकमा गएको पैसो जम्मा गरेको कोड मिलेन भनेर खबर गर्यो! मैले सोही खबर आ.वा. गरे तर त्यतिन्जेल दशै विदा शुरु भैसकेको थियो जस्ले गर्दा मैले बैंकको काम गर्न सक्ने अवस्था थिएन! पिताजीले सोही कुरो बुझेर भक्तपुर कौशलटार स्थित काकालाई मेरो अवस्थाबारे जानकारी गराएर आवश्यक परे पैसोको व्यव्स्था गरिदिन भन्नुभएको रहेछ! मलाई भने त्यसको अत्तोपत्तो भएन!
उता दशैको चहलपहल शुरु भयो भने बिस्तारै काठमाडौ खाली खाली रित्तो रित्तो हुन शुरु भयो! साथीहरू सबै बस जाने ठाउँमा बस चढेर घर गैसकेका थिए! म सङ पैसो सकिइसकेको थियो! मैले महिनावारी खानेगरेको होटेल पनि बन्दहुने अवस्था आइसकेको थियो! घरबाहिरको पहिलो दशै भएकोले किनमेलको खासै मेसो नपाइकनै पसल बन्द भैसकेका थिए! दशैका तीन दिन त पत्रपत्रिका पनि बन्द नै हुने!
यसै अन्तर्मुखी स्वभावको म, त्यसमाथी पहिलो पटकको परिवार विनाको दशै यत्तिकै नरमाइलो ! म पिताजीले पैसो व्यवस्थापन गरेको खबर थाहा नपाएर भक्तपुर काकाकोमा पनि गइन! न खाना खाने होटल खुल्ला, न कतै आफन्त सङ्ग सम्पर्क, न कोठामा नै कुनै खाने र पिउने सामान (किनकी होटेलमा खाने गरेकोले कोठामा केवल चिया पिउने सम्मको मात्रै व्यवस्था थियो)! दशैका मुख्य तीन दिन कालो चिया पिएर केही कविता, कथा र लेख लेखेर वित्यो!
धन्न दशै सकिने बित्तिकै होटेल पनि खुल्यो, उताबाट आ.वा. पनि आएर पिताजीले पठाएको पैसो हातमा पनि पर्यो! अनि फेरि साधारण जिन्दगी शुरु! तिहारसम्मै क्याम्पस छुट्टि भएकोले त्यतिन्जेल सिनेमा (कुनै दिन त एकै दिनमा तिनवटा फरक फरक हलमा फरक फरक फिल्म) हेरेर पनि दिन काटियो!
अस्ति पिताजी सङ्ग जर्मनीबाटै लामो भिडियोवार्तालाप गरियो! घरैमा इन्टेरनेट जोडिएको र संचारको यो सुविधा देखेर त्यतिबेलाको कालो चिया पिएर दशै कटाएका दिनको खुब याद आयो! पिताजीले भने उ बेला बैंकबाट पैसा पठाउदाको रसिद र आ.वा. समेत सुरक्षित गर्नुभएको रहेछ! पत्रहरुको संग्रह पनि छ रे! समय मिले फेरि पढ्न कति मज्जा हुन्थ्यो होला!
समय हो! हिजै जस्तो लाग्छ लाग्न त! ३ दशक पुग्न लागेछ!
लामो समय सामाजिक क्षेत्रमा कार्य गर्दै आउनु भएका माधवराज न्यौपाने अहिले जर्मनीमा हुनुहुन्छ । हामीले उहाँको फेसबुक पेजबाट यो खबर साभार गरेका हौं । सम्पादक

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker