स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत अझै आएनन्

कालीकोट– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालीकोट जिल्लाका स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हालसम्म जिल्लामा आएका छैनन् । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको करिब एक महिना पुग्नै लाग्यो । तर उनीहरु स्थानीय तहमा अझै पुगेका छैनन ।
भदौ दोस्रो साता मन्त्रालयले जिल्लाका ५ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कर्णाली प्रदेश अन्तरगत रहेका उपसचिव पदम बहादुर बुढा (क्षेत्री) लाई खाँडाचक्र नगरपालिका र महेन्द्र जंग्ङ शाहीलाई रास्कोट नगरपालिका सरुवा गरेको थियो ।
त्यस्तै चामुण्डा बिन्दासैनी नगरपालिका दैलेखबाट प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली शुभकालीका गाउँपालिका कालीकोट, भुमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट शाखा अधिकृत बाल कृष्ण राना मगर नरहरीनाथ गाउँपालिका कालीकोट र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयबाट शाखा अधिकृत राजन पराजुली महाबै गाउँपालिका कालीकोट खटाइएको थियो । मन्त्रालयले खटाएका कर्मचारी अझै कालीकोट आइपुगेका छैनन् ।
समयमै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपुगेकाले कर्मचारीको तलभ भत्ता र सामाजिक सुरक्षा भत्ता समेत रोकीने अवस्था आएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्म सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्नेछ भन्ने उल्लेख छ । सोही अनुसार शुभकालीका गाउँपालिकामै कार्यरत ईन्जिनियर नरेन्द्र प्रसाद चौलागाई लाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
नरहरीनाथ गाउँपालिकाले पनि प्रमुख प्रशासकीय अधिकृत नआउने भएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गरिरहेका निरक कुमार शाहलाई जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताए । यहाँको तिलागुफा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चौलागाई, सान्त्रीत्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बढुवाल, पचालझरना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटा र पलाँता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कम्लेस वि.क कार्यरत छन् ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकी सकेकाले पहिले भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाई कामकाग गर्न कठिनाइ भएको खाँडाचक्र नगरपालिकाका मेयर कमm बहादुर शाहीले बताउनु भयो ।