मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कहिले आउला ? कोटबाडामा चिल्गाडी

कालीकोट– निर्माण सुरु भएको ३७ वर्षपछि बहुचर्चित कोटवाडा विमानस्थलमा कालोपत्रे भएको छ । तर ७ वर्षअघि परीक्षण उडान भएको उक्त विमानस्थलमा अहिलेसम्म उडान भएको छैन । कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ । विमानस्थल कालोपत्र भएपछि स्थानीय जहाज आउने आशामा छन् ।

स्थानीय ७५ वर्षीय नरवहादुर विष्ट ३८ वर्षको हुँदा कोटवाडाको पाखो खनेर विमानस्थल निर्माणमा संलग्न भएका थिए । ०४२ सालमा निर्माण सुरु भएको विमानस्थलमा बिष्ट धेरै बर्ष काम गरे । एक महिनाको श्रमदान पनि गरे । जुँगाको रेखी बसेदेखि कोटवाडाको पाखो खन्न थालेका स्थानीय जनक विष्ट विमानस्थल कालोपत्र भएपछि खुसी देखिएका छन् । विमानस्थल कालोपत्र भएसँगै जहाज आउने आशाले बिष्ट खुशी भएका हुन् । कोटवाडा विमानस्थल कालीकोटवासीको सडकभन्दा पनि पुरानो सपना भएको उनको भनाइ बिष्टको छ ।
निर्माण सुरु भएको ३ दशकपछि ०७३ माघमा कोटवाडा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको थियो । तर उडान नियमित भने भएको छैन । विमानस्थलको कालोपत्र गर्ने काम सकिपछि हवाई प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीको योजना छ । विमानस्थलको टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङलगायतका संरचना निर्माण भइसकेका छन् ।

खानेपानी, बिजुली, धावनमार्गको सुधार लगायतका काम पनि सम्पन भइरहेको विमानस्थल निर्माणमा संलग्न प्राविधिक केदार केसीले बताए । विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरीरपार्वती श्याम एन्ड शंकर जेभीले सम्झौताअनुसारको काम सकेर हस्तान्तरणको तयारी गरेको छ । कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

विमानस्थल सुधारमा १५ करोड १४ लाख रकम लागेको विमानस्थल कार्यालयले जनाएको छ । ६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ । कोटबाडा विमानस्थल कर्णालीका मुगु, डोल्पा र हुम्लाको भन्दा लामो र फराकिलो रहेको हवाई प्राधिकरणको दाबी छ ।

विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने कोटवाडा विमानस्थल नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाडाचक्रसहितका स्थानीय तह र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुने पत्रकार तुलाराम पाण्डे बताए ।

नन्दादेवी मावि कोटवाडाका प्रधानाध्यापक रत्नसिंह साउदले बताए । ‘चिलगाडी’ चढेर जाने नरहरिनाथका बासिन्दाको वर्षौ पुरानो सपना भएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टको भनाइ छ । ‘विमानस्थल निर्माण सकियो, अब नियमित उडान कहिले होला भन्दै स्थानीयले प्रश्न गर्ने गरेको गाउँपालिका अध्यक्ष बिष्टको भनाइए छ ।

०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ बजेट बाट काम सुरु गरिएको थियो । विमानस्थलको काम सुरु हुँदा प्रतिदिन ५ रुपैयाँ ज्यालामा काम सुरु गरिएको शाहीले बताए । अहिले मजदुरले दैनिक ८ सय रुपैयाँ ज्याला बुझिरहेका छन् । सशस्त्र द्वन्द्वका बेला ०५८ फागुनमा अछाम मंगलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगिमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध विमानस्थल निर्माणको काम शान्ति स्थापनापछि पुनः सुरु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटवाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button