६ जनाले प्रदेश अस्पताल सुर्खेतबाट मिर्गौला प्रत्यारोपण सेवा लिए

कालीकाेट- कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट ६ जनाले मिर्गौला प्रत्यारोपणको सेवा लिएका छन् । प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २१ पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । कर्णाली प्रदेश अस्पतालमै प्रत्यारोपण सेवा सञ्चालन हुँदा प्रदेश बाहिर जानु पर्ने बाध्यता हटेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा सञ्चालन गरिएको सेवाबाट ६ जनाको मिर्गौला सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्णालीमा प्रत्यारोपण सेवा सुरु गर्दा कर्णाली प्रदेश मात्र नभएर अन्य प्रदेशका नागरिकले पनि प्रत्यक्ष लाभ लिएको बताउनु भयाे । अन्य प्रदेशमा रहेका अस्पतालको तुलनामा कर्णाली प्रदेश अस्पताल सेवा प्रवाहमा धेरैअघि बढेकाे प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठकाे भनाइ छ ।
अस्पतालले अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत रहेको प्रदेश अस्पताल निर्देशक डा.केशर ढकालले बताउनु भयाे । प्रदेश अस्पतालमा क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा सञ्चालन गरिएको छ । जनरल उपचार तथा शल्यक्रिया सेवा पनि थप गरिएको छ । यस्तै, मुटु रोग निदान उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको छ ।