मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाज

अझै सुरु भएन: पान्तडीकाे पुल निर्माण, टुट्दै नागरिकका आशा

कालीकोट- खाँडाचक्र नगरपालिका बाट महाबै गाँउपालिका जोड्ने तिला नदीमाथिको पान्तडी पक्की पुल निर्माणको जिम्मा पाएको महादेव खिम्ती निर्माण सेवा प्रालिले पुल निर्माणकाे काम नगरेपछि त्यहाँका नागरिक निरास भएका छन् । महाबैका स्थानीय नागरिककाे सदरमुकाम मान्म बाट गाडी चडेर घर सम्म पुग्ने सपना टुट्दै गएकाे छ ।

निर्माण कम्पनीले भने काम गर्न छाेडेर पटक पटक म्याद थप गर्दै, भुक्तानी माग्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको पुलकाे डिजाइन प्रतिवेदन समेत अझै पूरा नगरेकाले प्रालि विरुद्ध महावै गाउँपालिकाले कानुनी प्रक्रिया अघि बढाएकाे महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भयाे ।

काठमाडौँको महाराजगन्जमा कार्यालय रहेको निर्माण कम्पनीले निर्माण स्थलमै नआई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नं. ५ सुर्खेतलाई विभिन्न मितिमा पत्र लेख्दै पुल निर्माणमा विविध समस्या भएकाे भन्दै झुटा विवरण दिदै आएकाे छ ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नं. ५ सुर्खेतले निर्माण कम्पनीको पत्रको जवाफ लेख्दै हालसम्म पुल निर्माण साइटको भौतिक प्रगति कुनै पनि नभएको, यसअघि म्याद थप सम्बन्धमा कुनै निवेदन वा कागजात प्राप्त हुन नआएको, म्याद थपको कुनै फाइल पेस गरेको भए म्याद थप भए/नभएको पनि यस आयोजना कार्यालयलाई कुनै पनि जानकारी प्राप्त नभएकाले तपाईंको माग आकर्षित नहुने भन्दै निर्माण कम्पनीलाई पत्राचार गरेको छ ।

निर्माण कम्पनीले कहिले जग्गाधनीले काम गर्न नदिएको त कहिले बर्सातले समस्या पारेको लगायतका बहाना गर्दै आएको छ । पुल निर्माण स्थानमा कुनै पनि अवरोध नभएको लिखित जानकारी महावै गाउँपालिका र स्थानीयले गराए पछि अहिले अर्को बहाना बनाएको गाउँपालिका अध्यक्ष सिंहको भनाइ छ ।

महावै गाउँपालिका अध्यक्ष सिंहले निर्माण कम्पनीको बदमासीले आफू आजित भइसकेको बताउनुभयो । “कहिले जिल्ला प्रशासन, कहिले पुल महाशाखा, कहिले मन्त्रालय धाउँदै हैरान भइसक्याे । महादेव खिम्ती नामको निर्माण कम्पनीले काम अझै सुरु गरेको छैन तर कार्यालयमा भुक्तानी माग्ने, म्याद थप्ने लगायतका काम जारी राखेको छ । सरकारले यस्तो कम्पनीलाई सधैँका लागि कालो सूचीमा राख्न किन नसकेको होला ?” अध्यक्ष सिंहको प्रश्न छ । गाउँपालिकाले यही फाल्गुण १५ गते बिहीबार निर्माण कम्पनीलाई पत्र लेखेर काम सुरु अझै नभएकाले कहिले हुने हो ? जानकारी दिन अनुरोध गरेकाे छ । पक्की पुल निर्माण गरिसक्ने समय सकिएको २० महिना बितिसकेको छ तर काम सुरुसम्म भएको छैन ।

पुल महाशाखा काठमाडौँले ठेक्का लगाएको यो पुल २०७७ साल चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाडौँले आठ करोड ३९ लाख लागतमा निर्माण सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा २०८० असार १२ गते पुल निर्माण गरिसक्ने उल्लेख छ । पुल बनाइसक्ने समय सकिएको २० महिनासम्म पनि पुल बनाउने स्थलसम्म निर्माण कम्पनी पुगेको छैन ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker