मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा कँडेल नियुक्त

कालीकाेट- कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् । कँडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

सत्ता गठबन्धनका २४ सांसदको समर्थन सहित मुख्यमन्त्रीका लागि कँडेलले दाबी पेस गरेका थिए । कँडेललाई एमालेका १०, माओवादीका १३ र एकीकृत समाजवादीका १ सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ ।

कँडेल मुख्यमन्त्री नियुक्त भए पनि सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा भने टुंगिएको छैन । माओवादीले सभामुख सहित ४ मन्त्रालय पाउनुपर्ने अडान राखेकाे छ । मुख्यमन्त्रीको शपथपछि केही मन्त्रीलाई शपथ गराउने तयारी छ । त्यसका लागि बुधबार बिहान गठबन्धन दलहरूको बैठक बस्दै छ ।

काे हुन यमलाल कँडेल

दैलेखको गुराँस गाउँपालिकामा २०१८ मा जन्मिएका कँडेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । २०३६ मा शिखर मावि रामघाटमा शिक्षण पेसामा संलग्न भएका बेला उनी पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी भई राजनीतिक यात्रा गरे । अनेरास्ववियुमा लामो समय राजनीति गरेका उनले २०४१ सालमा ९ महिना जेलजीवन बिताएका थिए । २०४९ मा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगरप्रमुख बनेका उनले राजीनामा दिएर २०५१ को मध्यावधिमा सुर्खेत–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए ।

२०५४ सालमा पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री बनेका कँडेल २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । संघीयतापछि २०७४ सालमा उनले आफूभन्दा कनिस्ठ नेतालाई प्रतिनिधिसभाको टिकट दिलाएर प्रदेशसभा २ (१) मा उम्मेदवारी दिए । जसको कारण थियो– कर्णालीको पहिलो मुख्यमन्त्री बन्ने । तर तत्कालीन एमाले र माओवादी बीच एकीकरण भएर नेकपा गठन भएपछि कँडेलले आफ्नो निर्णयबाट पछि हट्नुपर्‍यो ।

कर्णाली प्रदेशको मुख्यमन्त्री तत्कालीन माओवादीको भागमा परेपछि महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । तर दुई नेताको सम्बन्ध सुमधुर हुन सकेन । तत्कालीन मुख्यमन्त्री शाहीविरुद्ध कँडेलकै नेतृत्वमा दुईपल्ट कर्णाली प्रदेश सभामा अविश्वासको प्रस्ताव समेत दर्ता भयो । पार्टी फुटेपछि कँडेलले लामो समय प्रमुख प्रतिपक्षी दलको नेतामै चित्त बुझाउनुपर्‍यो । कँडेल एमालेको स्थायी कमिटी सदस्य समेत हुन् ।

मुख्यमन्त्री हुने आकांक्षासहित गत वर्षको प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (१) बाट उम्मेदवार बनी जितेका कँडेलको मुख्यमन्त्री बन्ने ‘सपना’ झन्डै ६ वर्षपछि पूरा भएको छ । कँडेल कर्णालीको चौथो मुख्यमन्त्री बनेका छन् । योसँगै एमालेले पहिलोपल्ट कर्णालीमा सत्ताको नेतृत्व गरेको छ । सबैभन्दा वरिष्ठ नेता भए पनि पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बढेको दूरीका कारण  कँडेल अवसरबाट पटक–पटक वञ्चित भएको एमालेका एक सांसदले बताए ।

               हामीले याे समाचार कान्तिपुर अनलाइन बाट लिएकाे हाै‌ - सम्पादक

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker