मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर सहितको शिक्षण अस्पताल बनाइँदै

कालीकोट– राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । दैलेखको आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चार बर्ष अघि भएको सम्झौता अनुसार ट्रमा सेन्टर सहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो ।
सम्झौता अनुसार राकम कर्णालीमा एक सय शैयाको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको प्रकृया अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले बताउनु भयो । अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिने रावलले बताउनु भयो ।


शिक्षण अस्पताल निर्माणका लागि आठबिस नगरपालिका–३ मा ४० रोपनी अर्थात ९२ हजार एक सय ३० वर्ग मिटर क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताउनु भयो । अस्पताल निर्माणको लागि डीपीआर बनिसकेको छ । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगर प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।
प्रतिष्ठानले राकम कर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैह्आवासीय नेपाली संघ एनआरएन बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबिस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको छ । अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतीय प्रशारण ट्रास्फर्मर खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिलसेनाले बताउन भयो ।

अक्सिजन प्लान्टको सोमबार उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतको उपस्थितिमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो । अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनु भयो । राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न मन्त्री शाहले बताउनु भयो ।

पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकम कर्णालीमा आउँदा अस्पताल निर्माण भइसक्ने बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रावलले राकम कर्णालीमा ट्रमा सेन्टर सहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button