एकीकृत समाजवादी कालीकोटले ध्यानाकर्षण पत्र बुझायाे

कालीकाेट- नेकपा (एकीकृत समाजवादी) कालीकोटले १७ वटा मागसहितकाे ध्यानाकर्षण पत्र आज प्रमुख जिल्ला अधिकारीलाई बुझाएकाे छ । पार्टीको देशव्यापी तीन महिने संघर्षका कार्यक्रम अन्तर्गत सो पार्टीले शुक्रवार कालीकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष मागसहितको ध्यानाकर्षण पत्र बुझाएकाे हो ।
जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेद्वारा हस्ताक्षरित माग पत्रमामा जिल्लावासीहरुलाई खाद्ध संस्थानको चामल र साल्ट ट्रेडिङको नुन पालिका स्तरमै उपलब्ध हुने व्यवस्थाका साथै पोष्ट मार्टमका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटाउन माग गरिएको छ । माग पत्रमा स्थानीय स्तरमै रोजगारी सृजनाको वातावरण सहित पढाइ र उपचारका लागि जिल्ला बाहिर जाने अवस्थाकाे अन्त्य गर्न र हाल सञ्चालित सडक खण्डमा वर्षेयाममा समेत सडक सञ्चालन हुने व्यवस्थासहित यात्रुहरुले राज्यबाट निर्धारित भाडाभन्दा बढी भाडा तिर्नुपर्ने असहजता हटाउन समेत माग गरिएको छ ।
सरकारी कार्यालयहरुमा लामो समयसम्म कार्यालय प्रमुख बिहीन भएर हुने समस्या अन्त्य गरिनु पर्ने, रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना , कोटवाडा एअरपोर्ट सञ्चालन , फुकोट र तिला हाइड्रोको काम सुचारु, पान्तडीमा पक्की पुल र भैंसीगौंडामा बेलीब्रिज समयमै निर्माण गर्न ध्यानाकर्षण गरिएको छ।
पार्टी केन्द्रीय कमिटी सदस्य बिजया बिष्ट , प्रदेश कमिटी सदस्य लालबहादुर मल्ल , प्रदेश सभा निर्वाचन क्षेत्र (१) का अध्यक्ष कम्मबहादुर शाही , उधोग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाही, खाँडाचक्र – ८ का वडा अध्यक्ष नन्द बहादुर मल्ल , समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष अनन्त वराल र जिल्ला अध्यक्ष जीवनकुमार शाहीका र अनेमसंघ(समाजवादी)जिल्ला अध्यक्ष पुष्पा सिंह(शाही) लगायतका नेताहरुकाे उपस्थितीमा ध्यानाकर्षण पत्र बुझाइएकाे हाे । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले सान्दर्भिक माग पेश गरेकोमा पार्टीलाई धन्यवाद सहित जिल्ला स्तरबाट सम्बोधन गर्न सकिने माग कार्यान्वयनका लागि तत्परता देखाउनु भयाे । उहाँले ध्यानाकर्षण पत्र प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा तत्काल पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।