पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो
कालीकाेट- नेपालले पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात गर्दै छ । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशलाइ बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।
नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का, भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर भर्चुअलरुपमा बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
सम्झाैता अनुसार नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने उल्लेख छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ ।
नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ (भारु) मा कारोबार हुँदै आएको छ । बङ्गलादेशलाई बिजुली बिक्री गर्दा प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान छ । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ ।