
कालीकोट– दश हजार सात सय अठासीवटा राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय कालीकोट आइपुगेको छ । २०७७ भाद्र १५ गते देखि २०८० साउन ३० गते सम्म राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका वा इन्रोलम्यान्ट गरेकाहरुको राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय कालीकोटमा आइपुगेको हो ।
प्राप्त भएको राष्ट्रिय परिचयपत्र मध्य एक हजार नौ सय बहत्तर राष्ट्रिय परिचयपत्र सम्बन्धीत सेवाग्राहीले प्राप्त गरेको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयो । २०७७ भाद्र १५ गते देखि हाल सम्म २३ हजार ७ सय ७४ राष्ट्रिय परिचयपत्र इन्रोलम्यान्ट गरिएको छ । २०८० साउन देखिपछि राष्ट्रिय परिचयपत्र प्राप्त भएको छैन । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने भएको छ । यस्तो सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा पर्छ । साथै, राजस्व सम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
त्यस्तै बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड र सामाजिक सुरक्षा कोषको सेवा लिन समेत अब राष्ट्रिय परिचयपत्र र नम्बर अनिवार्य गरिएको छ । घरजग्गा किनबेचमा समेत यस्तो प्रावधान लागु भएको छ ।