एचपीभी खोप अभियानमा- ९८ प्रतिशत लक्ष्य हासिल

कालीकोट– पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोपमा स्वास्थ्य सेवा कार्यालय कालीकोटले ९८ प्रतिशत लक्ष्य हासिल गरेकाे छ । जिल्लामा माघ २२ गते देखि फाल्गुण ६ गते सम्म सन्चालन गरिएकाे खाेप अभियानमा ८ हजार ६ सय ८४ किशोरीलाई एचपीभी लगाइएको छ । पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप कक्षा ६ देखि १० सम्मका बिद्यालय जाने छात्रा र १० बर्ष देखि १४ बर्ष उमेर समुहका बिद्यालय नजाने छात्राहरुलाई लगाइएकाे स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनु भयाे ।
पहिलो चरणमा माघ २२ गते देखि २४ गते सम्म रास्कोट नगरपालिका, पलाँता, पचालझरना र सान्नीत्रिणेणी गाउँपालिकामा एचपिभी खोप अभियान संचालन गरिएकाे थियाे । दोस्रो चरण माघ २७ गते देखि २९ गते सम्म खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका र शुभकालीका गाउँपालिका र तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फाल्गुण ४ गते देखि ६ गते सम्म खोप संचालन गरिएकाे बताइएकाे छ ।