कालीकाेट- घरमा परेवा पाल्ने बा को ठूलो सोख थियो। परेवा बसेका घर लछिनको मानिन्थ्यो। तर हाम्रो घरमा कहिल्यै परेवा बसेनन्।
माघ १ गते माईमेला लाग्थ्यो। बा र आमा पुजा गर्न भनेर बिहानै जानुभयो। सायद केही भाकल थियो होला। म, भाइ र कुकुर दिनभर घर रुँघेर बस्यौ। घाम टाउका माथि पुग्दा बा र आमा घर आइपुग्नु भयो। टीका लगाइदिनु भयो। हातमा थरी थरीका मिठाई राखिदिनु भयो। अनि परालले बाँधेको झोलाबाट चारवटा परेवा निकाल्नु भयो।
परेवा देख्दा भाइ र म धेरै खुशी भयौं। झोलाबाट निकाल्दै बा ले हाम्रो हातमा राखिदिन खोज्नु भयो। मलाई त डर लाग्यो शुरुमा। ठुङ्छ भनेर मैले बोकिन् शुरुमा। भाई म भन्दा निकै शुरो थियो। उसले नडराई बोकि हाल्यो। त्यसपछि मैले पनि आँट गरे। नवीन रोमान्चक अनुभूति थियो त्यो। हाम्रा साना हातमा परेवा अटि नअटी छटपटाउँदै बसे।
तर घरमा परेवाको उपस्थिति हाम्रो कुकुरले स्वीकार्न सकेन्। उसले परेवाको अस्तित्वमा प्रश्न उठायो। क्षणभरमै हाम्रा आँखा अगाडि एउटा परेवा मारि दियाे । लगत्तै मुखभरि बुजो लगाएर खलेगह्रा तिर कुदिहाल्यो। हामी सबैलाई नराम्रो लाग्यो। बा ले कुकुरलाई खुब गाली गर्नुभयो। केही बेरमा कुकुर घर फर्क्यो। उसलाई पछुतो भयो क्यारे, आँगनमा अँध्यारो अनुहार लगाएर बस्यो। उसले उसकै भाषाबाट माफी माग्यो होला।
बा आमाले चित्त बुझाइ सकेका थिए। तीन परेवा अझै बाँकी नै थिए। भाइ र म परेवाका चाल हेरिबसेका थियौ। उनीहरुका कुराकानी सुनिबसेका थियौ। एकछिनमा कुकुर थपियो रमिता हेर्न। उसको अनुहार फेरि उज्यालो भइसकेको थियो। हामीले केही समय अघि मरेको परेवा बिर्सिसकेका थियौ। घरमा बेग्लै खुशी थपिएको थियो।
घाम ठूला घरको छानामा आइपुग्न अझै धेरै समय बाँकी थियो। पश्चिमी आकाशमा सिन्दुरमय हुन बाँकी नै थियो। शिशिर ऋतुको पहिलो दिन जाडो घटिसकेको थिएन। चिसो हावा चलिरहेकै थियो।
तीनवटा परेवा परालले छाएको भान्साघरको छानामा बसेर हामीलाई नै हेरिराखेका थियाै। केहीबेरमा एक हुल परेवा आए। भान्साघरकै छानामा आएर आफ्नो उडानलाई अवतरण गरे। ती परेवा थापा बाबैका हुन् भनेर चिन्न कत्ति समय लागेन। गाउँमा सबैका घरमा परेवा थिएनन्। थापा बाबैका घरमा धेरै परेवा बस्थे। ती परेवाको उडान क्षेत्र हाम्रो घरतिर थियो सायद। त्यसैले चिनिहालियो। यो भन्दा अघि आँगन मै आएर त्यतिबिघ्न परेवा बसेका थिएनन्। लछिन शुरु भइहाल्यो। हाम्रा परेवा एकैदिनमा धेरै भए। घरमा फेरि अर्को ठूलो खुशी थपियो। अब त परेवाले झन् ठूलो स्वरमा गीत गाउन थाले। झन् ठूला स्वरमा कुराकानी गर्न थाले। घर आँगन परेवाको गुन्जनले पक्कै पवित्र भयो। त्यो गुन्जनको मिठास शब्दमा वर्णन गर्न सकिदैन।
खुशीको आयु लामो हुदैन् भन्छन् नि, त्यस्तै भयो। परेवाको उपस्थितिमा जन्मिएको त्यो उमङ्ग लामो जीवन बाँच्न सकेन। अल्पायुको उमङ्ग। थापा बाबैका परेवाले उडानको सङ्केत दिए। ती परेवाले जसरी हाम्रो छानामा अवतरण गरेका थिए, त्यसरी नै उनीहरुले हाम्रो छानाबाट उडान भरे। यसपटक उनीहरु आफूमात्र उडेनन्। हाम्रा तीन परेवा पनि उनीहरुसँगै उडाए।
हर्ष र उमङ्गले उज्याला र चम्किला भएका हाम्रा अनुहार क्षणभरमै अन्धकारमय भए। हामीले हेर्न मात्र सक्यौ। मनले मानिरहेको थिएन।यसपटक कुकुर पनि निराश देखियो। उ छटपटाउन थाल्यो। भुक्न थाल्यो। केही परसम्म कुदेर खेदायो पनि। भाइ र मैले त्यो विछोड सहन सकेनौ। आँखा रसाए हाम्रा त !
बा र आमालाई पनि थक्क थक्क भयो पक्कै। हाम्रा रुन्चे अनुहार हेर्दै बा ले ढाडस दिनुभयो। केही बिग्रेको छैन जसरी भन्नु भो, “नरोउ केटा हो! म फेरि धेरै परेवा ल्याउँछु।”
धेरै माघे सङ्क्रान्ति आए। घर आँगन, खलेगह्रामा धेरै परेवा आए। वरिपरिको आकाशमा परेवा उडि नै रहे तर बा ले घरमा कहिल्यै परेवा ल्याउनु भएन।
हिन्दू धर्ममा प्रकृति र जनावरको विशेष महत्व छ । चराचुरुङ्गी र जनावरको ग्रहसँग विशेष सम्बन्ध छ । यही कारणले गर्दा उनीहरुलाई शुभ र अशुभको क्षेत्रमा गणना गरिन्छ ।
भनिन्छ घरमा परेवा पस्ने बित्तिकै दुर्भाग्य सौभाग्यमा परिणत हुन्छ । तिनीहरूको गुँड कहिल्यै नष्ट गर्नु हुँदैन । धेरै पटक परेवाले घरको बालकनी, टेरेस वा एसीमा गुँड बनाउँछन् । शकुन शास्त्रमा परेवाको गुँड बनाउनु शुभ मानिन्छ । घरमा परेवा प्रवेश गरेमा परिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ । परेवाको आगमनसँगै घरको दुर्भाग्य सौभाग्यमा परिणत हुन्छ ।
शकुन शास्त्रमा पशु–पक्षीसँग सम्बन्धित लक्षणहरूको विस्तृत व्याख्या गरिएको छ । शकुन शास्त्रमा विश्वास छ कि यदि तपाईको घरमा परेवाले गुँड बनाउन थाल्छ भने यसको अर्थ तपाईलाई छिट्टै धन आउनेछ ।
परेवाले सुख र समृद्धि ल्याउने विश्वास गरिन्छ । त्यसैले परेवालाई धेरै शुभ मानिन्छ । परेवालाई दिनहुँ खुवाउनुपर्छ । यसो गर्नाले ग्रह दोष हट्छ ।