मिति:- २१ फाल्गुन २०८०, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबर

जुम्लाकाे ताताे पानी गाउँपालिकामा श्रमदान अभियान

जर्मन-  धराने मेयरको श्रमदानको अभियानपछि तातोपालिका गाउँपालिका जुम्लामा पनि श्रम अभियान शुरु भएको भनेर हिजो फेसबुकबाट थाहा पाइयो । असाध्यै खुशी पनि लाग्यो र त्यो खबरले मलाई मेरो बिगतको अनुभवलाई पनि ताजा गरिदियो । त्यो समय मेरो खानेपानी तथा सरसफाइ क्षेत्रको लगभग पहिलो काम नै थियो ।
समय सन २००६-२००७ तिरको, स्थान चाहिँ लाम्रा गा.वि.स को लाम्रा गाउँ र सन्दर्भ भने खानेपानी आयोजना निर्माणको हो । गाउँमा लगभग २९० घरधुरी थिए तर संचालनमा रहेका खानेपानीका धारा भने केवल २ वटा थिए! ती धारापनि गाउँकै हुनेखानेहरुको छेउछाउमा थिए । समयमा पानी नआउने हुनाले गाउँलेलाई नजिकै रहेको नदि (तीला) बाट पानी बोक्नुको अर्को विकल्प थिएन ।
आयोजनाको सर्भे सकिएपछी, डिजाइन गर्ने समयमा विभिन्न मापदण्डको हिसाबले २९ वटा धारा प्रस्तावित गरियो र त्यो डिजाइन लिएर गाउँमा छलफल अनि मिले सम्झौता गर्ने गरि म आफै जिल्लाका कर्मचारी साथिहरुसङ्ग गाउँ तर्फ प्रस्थान गरे । त्यो बेला जिल्ला कार्यालयका मित्रहरु Dhan GautamHari Dangi हरु ले सामाजिक सहजिकरण र प्राविधिकरुपमा Meen Bista ले अगुवाई गरिरहनु भएको थियो ।
सडक यातायात नपुगेको त्यो समयमा निर्माण सामाग्री सबै हवाईजहाज वा हेलिकप्टर बाट ढुवानी गर्नपर्ने बाध्यता थियो । त्यसैले पनि आयोजनाको लागत अत्यधिक महङ्गो हुन गएको थियो । हामीले सन्चालन गरेका समुदायमा आधारित खानेपानी आयोजना मध्येको सबैभन्दा ठूलो र महङ्गो आयोजना त्यो बन्न गयो ।
योजना निर्माण गर्न चाहिने बाह्य निर्माण सामाग्री (सिमेन्ट, पाइप, छड, फिटिङ्स), तिनको ढुवानी, दक्षमिस्त्री र केही भाग अदक्ष मिस्त्री चाहिँ आयोजनाले व्यहोर्ने अनि अदक्ष मिस्रीको केही भाग र स्थानिय सामाग्री चाहिँ समुदायले व्यहोर्ने गरेर सम्झौताको खाका तयार पारिएको थियो ।
विहानको समयमा डिजाइन सम्बन्धी जानकारी र सम्झौता सम्बन्धी विषयमा छलफल शुरु भयो । आयोजनाको रकम देखेर सम्झौता गर्न तम्सिने तर आयोजना व्यवस्थापनमा कमै नगद खेलाउन पाउने अवस्था देखेर तर्सिने पनि अवस्था आयो । लाम्रा गाउँ पारीपट्टिको हाँकुको वनमा रहेको मुलको पानी ल्याउने भनेर डिजाइन गरिएको थियो ।
कुरो चल्दै गयो । डिजाइन प्रति गाउँमा अविश्वास बढेर गयो । केही व्यक्तिहरुले त्यतिखेरको अवस्थामा जम्मा २ धारापनी जेनतेन चलेको ठाउँमा २९ धारा चल्छन् भन्ने बित्तिकै अपाच्य नै भयो । तिनीहरुले मुख्यगरी २ वटा विषय उठान गरे । पहिलो यो सानो मुलले २९ धारा धान्दैन । दोस्रो त्यतिखेर अलिक तल रहेको पानी ट्याङ्की अलिक माथी सारेर छुटेका घरधुरीलाई पनि समेट्ने हाम्रो योजनामा माथी नयाँ प्रस्तावित स्थानमा पानी नै चढ्दैन । तर त्यो केही व्यक्तिहरुको मात्रै विषय थियो तर समग्रमा तिनिहरु नै गाउँका अगुवा थिए । अवस्था के थियो भने, तिनिहरुले आयोजना नगर्ने भनेपछी अरु गाउँले ले हामी गर्छौं भन्न सकिहाल्ने अवस्था भने थिएन ।
मैले डिजाइनका सबै मापदण्ड, जनसंख्या र पानीको हिसाब गरेर कसरी भविष्यसम्मको लागि धाराहरुमा पानी चल्ने कुरोको सुनिश्चित गरिएको छ भनेर सम्झाउने अनेक कोशिस गरे । तर तिनीहरु डेग चलेनन् । तर चुरो कुरो भने अरु अर्कै रहेछ । त्यो विवाद निकाल्नेहरु चाहिँ त्यतिखेर चलिरहेका धारा नजिकै घर भएकाहरु रहेछन् । जसलाई लगभग निजीजस्तै उपभोग गर्न पाएको धारो सबैको लागि साझा हुने भयो अनि आफ्नो प्रभुत्व सकिने भयो भन्ने सोच। त्यतिबेला पानीबाट बन्चित समुदायहरु धेरै जसो आर्थिक र सामाजिक रुपमा कमजोर हुनाले तिनीहरुलाई अतिरिक्त लाभ किन, यो आयोजनाले त हामीलाई खासै के फरक पर्याे । यो त भन्ने ती हुनेखानेहरुको सोच । अरु धेरै कुरा जस्तै राजनितिका कुरा पनि जोडिएका थिए होलान् तर हामीले त्यसलाई वेवास्ता गरियो । केही बेरको घम्साघम्सी पछी सम्झौता भने सम्पन्न भयो । वास्तविक पानी आवश्यक परेका समुदायले आवश्यक हस्तक्षेप नगरेको भए त्यो दिन सम्झौता हुने सम्भावना थिएन । हामी पनि त्यो दिन सम्झौता नभए पर्खीबस्न सक्ने अवस्थामा थिएनौ किनकि अन्य धेरै ठाउँहरु पर्खी बसेका थिए ।
हुनत, यो गाउँ आफैमा समुदायको अगुवाईमा कुला, वन र अन्य सामुदायिक संचालन र व्यवस्थापनको ईतिहास भएको गाउँ हो । तरपनि गाउँमा केहि स्वार्थसमुहले कसरी गाउँलाई नै राम्रो काम गर्न कसरी बिथोल्न कोसिस गर्छन् भन्ने उदाहरण पनि बन्यो ।
यो फोटो चाहिँ २२ जनवरी २००७ को दिन पाइपलाइनको काममा श्रमदान भैरहेको बेलाको हो! सम्झौतामा केही समय लफडा भएपनी निर्माणको काममा भने समुदायको अगुवाई उदाहरणिय नै रह्यो । अन्य आयोजनामा श्रमदान भन्ने बित्तिकै महिलाहरुको धेरे उपस्थिती हुने र नगद आउने काम भन्ने बित्तिकै पुरुषहरुको अग्रसरता हुने अभ्यास विपरित यो आयोजनामा भने महिला र पुरुष सबैको समान र उल्लेख्य सहभागिता रह्यो । आयोजना भने भव्यरुपमा सम्पन्न भयो । केही कमिकमजोरी सहित अहिलेपनी त्यो आयोजना चलिरहेकै जस्तो लाग्छ मलाई ।
गाउँको मन शान्त पार्न र तिनीहरुलाई विश्वास दिलाउन जिल्लामा रहेको टिमले पनि पहिले पाइपलाइनको काम सक्काएर प्रस्तावित ट्याङ्की रहेको स्थानमा पानी झारेर मात्रै अन्य संरचनाको काम शुरु गरेको थियो । त्यसपछी भने ती विवाद निकाल्ने व्यक्तिहरुको भने मुखमा बुजो नै लाग्यो जस्तो भयो ।
समग्रमा त्यो गाउँ ऐतिहासिक चेत भएको र सामुदायिक अग्रसरता भएको क्षेत्र हो । ‘कुडा कर्णालीका’ को शुरुवात सङ्गै लाम्रा सम्वादले कर्णालीमै अग्रणी भुमिका खेलेजस्तै अहिलेको श्रम अभियानमा पनि एउटा उदाहरणिय भुमिका खेलोस  । तातोपानी गाउँपालिका जुम्लालाई बधाई तथा शुभकामना ।
लेखकः सामाजिक अभियानता माधवराज न्यौपाने जर्मनमा अध्यायन गर्दै हुनुहुन्छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker