मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरीको सम्झनामा स्मारक निर्माण

कालीकोट– सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका प्रहरीहरूको सम्झनामा जिल्ला प्रहरी कार्यालयले स्मारक निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय भित्र निर्माण गरिएको स्मारकमा तत्कालीन जिल्ला प्रहरी प्रमुख डिएसपी कैलाशकुमार क्षेत्री सहित २२ जना प्रहरीहरुको नामवली स्मारक राखिएको छ ।

पूर्वाधार विकास कार्यालयको ३ लाख रुपैयाँ बजेटबाट स्मारक निर्माण गरिएको हो । स्मारकले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरी कर्मचारीलाई भावी पुस्ताले स्मरण गरी राख्न मद्दत पुग्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताउनु भयो । कालीकोट जस्तो विकट जिल्लामा देश र जनताको सेवा गर्ने क्रममा वीरगति प्राप्त गरेका अमर प्रहरी कर्मचारीको स्मारकले जनताको सेवामा समर्पित हुन प्रेरणा दिइरहने ढकालले बताउनुृ भयो ।

०५६ साउन १ गते कालीकोटमा हाजिर भएर २६ गते इलाका प्रहरी कार्यालय कोटवाडा निरीक्षणमा जाने क्रममा अधेरीखोला भीरमा माओवादीले थापेको एम्बुसमा परी तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाशकुमार क्षेत्रीको ज्यान गएको थियो । ०५७ मंसिर १४ गते इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमणमा मारिएका असई प्रकाश थापासहित जिल्लाभरि ज्यान गुमाएका २२ जना प्रहरी सहिदको नाम स्मारकमा उल्लेख गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२ घर भएका क्षेत्री सशस्त्र द्वन्द्वमा माओवादीबाट मारिएका नेपालकै पहिलो उच्च प्रहरी अधिकारी हुन् । डीआईजी ढकालले कालीकोटबाट सुर्खेत फर्किने क्रममा कर्णाली राजमार्ग नजिकै पर्ने मान्मस्थित भवानी आधारभूत विद्यालयका बालबालिकासँग अन्तरक्रिया गरे । उनले लागूऔषध दुव्र्यसन, बाल विवाह न्यूनीकरण, अपराधबारे प्रहरीलाई कसरी सूचना दिने भन्नेबार विद्यालयका बालबालिकालाई जानकारी दिए ।

यसैबीच सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले आक्रमण गरी विस्थापित गरेको रास्कोट नगरपालिका स्थित फुकोट प्रहरी चौकी शुक्रबार पुनःस्थापना गरिएको डिएसपी जयश्वर रिमालले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button