कर्णाली उत्सवकाे छैटौं संस्करण सोमबारदेखि सुरु

कालीकाेट– कर्णाली उत्सव ‘कुडा कर्नालीका’ काे छैटौं संस्करण सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुने भएको छ । उत्सव फागुन ७ गते सम्म चल्ने छ । आयोजक ऋति फाउन्डेसनका अनुसार सोमबार ‘कुडा कर्नालीका’ अन्तर्गत कर्णाली प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री गमता विक, केवलप्रसाद भण्डारी, वैदेशिक रोजगारी बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती लगायतले मन्तव्य राख्ने छन् ।
मगलबार कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका विषयमा मन्तव्य राख्नेछन् भने विश्लेषक आहुतीको ‘मान्ठ र मइडो’ शीर्षकको विद्वत प्रवचन रहनेछ । त्यही दिन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संघीयताका विषयमा मन्तव्य राख्नेछन् ।
यसपालि उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, संघीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुद जस्ता विभिन्न बिषयमा समूह छलफल गरिने आयोजकले जनाएको छ ।