नेफ्स्कूनमा सहकारी संस्थाहरुले प्रयोग गर्ने सफ्टवेयरमा विवाद सुरु
काठमाडौं- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा सहकारी संस्थाहरुले प्रयोग गर्ने सफ्टवेयरको विषयमा विवाद सुरु भएको छ । नेफ्स्कूनले एउटा कम्पनीसँग गरेको सफ्टवेयर निर्माण तथा बिक्रीको सम्झौता नसकिदै कमिसनको लोभमा अर्को कम्पनीसँग सम्झौता गरी नयाँ सफ्टवेयरको बिक्री सुरु गरेपछि संघ विवादमा परेको हो ।
नेफ्स्कूनले लामो समयदेखि जिनोव इंक प्रालीसँग सम्झौता गरी नेकोस प्लस सफ्टवेयर बिक्री गर्दै आएको छ । नेकोस प्लस सफ्टवेयर निर्माण, अपडेट तथा प्राविधिक सेवा जिनोव इंकले दिदै आएको छ । सम्झौता अनुसार सफ्टवेयर बिक्रीबाट भएको आम्दानी आधा हिस्सा नेफ्स्कूनले पाउदै आएको छ ।
तर, गत वर्ष भने नेफ्स्कूनले आफै समेत सेयर होल्डर रही स्थापना गरेको मिरा इआरपी नियोसिस टेक्नोलोजी प्रालिसँग सम्झौता गरी सहकारी सफ्टवेयर मिरा इआरपीको बिक्री गर्न थालेपछि जिनोवसँग विवाद सुरु भएको हो । आफुसँगको सम्झौता कायमै रहेका बेला नयाँ कम्पनीसँग सम्झौता गरी सफ्टवेयर निर्माण तथा बजारीकरण सुरु गरेपछि जिनोव इंकले नेफ्स्कून विरुद्ध गत बुधबार नेफ्स्कून विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
उक्त मुद्दामा शुक्रबार अन्तरिमकालिन आदेश जारी गर्दै अदालतले तत्कालका लागि मिरा सफ्टवेयर बजारीकरण, प्रचारप्रसार तथा बिक्री नगर्न नेफ्स्कूनलाई आदेश दिएको छ । यसैगरी अदालतले यस विषयमा छलफल गर्नका लागि फागुन २ गते दुवै पक्षलाई बोलाएको छ ।
बचत तथा ऋण सहकारीहरुलाई बिक्री गर्ने योजना सहित नेफ्स्कून र रारा डिजिटल ल्याब्स प्रालिको संयुक्त लगानीमा मिरा सफ्टवेयर निर्वाण गरिएको हो । नेफ्स्कूनले गत कात्तिक २६ गते एक कार्यक्रम गरी सफ्टवेयरको सफ्ट लञ्च गरिसकेको छ । २६ वटा साकोसहरुको तथ्यांक मिरा इआरपीमा माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको नेफ्स्कूनले जनाएको छ ।