नेपालको साइबर सुरक्षा रणनीति: वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता

काठमाडाै- नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराहरूबाट जोगाउन साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (CAN महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीबी अधिकारीले साइबर सुरक्षा रोडम्याप रणनीतिक खाकाको परिकल्पना गरेका हुन्।
रोडम्यापले नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) र सुरक्षा क्षेत्रका प्रमुख सरोकारवालाहरूबीचको सशक्त सहकार्यलाई झल्काउने बताइएकाे छ । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ICT विज्ञ डा. शालिग्राम पराजुली, महासचिव डा. भोजराज घिमिरे, र सचिव बन्दना शर्माले अनुसन्धान र विकास मार्फत साइबर अपराध न्यूनीकरणमा गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयाे । सोही क्रममा, क्यान महासंघका महासचिव चन्द्रबिलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले नेपालमा साइबर सुरक्षा सुदृढ पार्न क्यान महासंघ सरकार सग सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहेकाे बताउनु भयाे।
इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका उपाध्यक्षले नेपालमा स्थापना हुन लागेको फाइनान्सियल सेक्टर कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमको निर्माण र संयुक्त रूपमा साइबर घटनाहरू व्यवस्थापनमाको भूमिकाबारे चर्चा गर्नु भयाे । सरकारले निजि क्षेत्र सगकाे सहकार्यमा युवा वर्गलाई लक्षित गरी बृहत् साइबर सुरक्षा सचेतना शिक्षा अभियान चलाउनुपर्ने कुरामा सराेकारवालाले जोड दिएका छन् ।
नेपालको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० विद्युतीय कारोबार ऐन २०६३ साइबर सुरक्षा नियमावली २०७७ र नेपाल राष्ट्र बैंकको साइबर रेजिलियन्स निर्देशिका २०२३ सँग पूर्ण रूपमा मेल खाने यो महत्त्वाकांक्षी रोडम्यापले सुरक्षित र लचिलो वित्तीय प्रणालीको लागि आधार तयार गरेकाे बताइएकाे छ।