मिति:- १ माघ २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय

परम्परा धानेको हाम्रो पारिवारिक खेती 

जर्मन-  हिजो हाम्रो घरको मार्सी धानको यो बर्षको पहिलो रोपाई । रोपाई भन्ने बित्तिकै उतिबेलाको खुब सम्झना आउँछ । फोटो हेरिसकेपछी पुराना सारा सम्झना ताजा भएर आए ।

खेतको कमी नभएपनी खेती गर्न मान्छे चाहिँ धेरै चाहिने । हामीहरु मातापिता, भाईबहिनी र म गरेर ५ जनाको सानो परिवार भएकोले खेतीगर्न ज्यादै झमेला नै हुन्थ्यो । त्यसमाथी मार्सीधानको खेती ।

घरमा एकहल बल्ल (गोरु) हुनै पर्‍यो, हलो जुवो, फालो, बिगारो, मई, र बाउसो भने एकदम अत्यावश्यक सर-सामान हुन् । यिनको खासै समस्या लाग्दैनथ्यो किनकी

सबै हाम्रै घरमा व्यवस्था थियो । त्यो बेलामा फलामको फालो हुनु पनि गज्जबकै हुन्थ्यो । केही मान्छेको घरमा मात्रै फलामको फालो हुन्थ्यो । अनि फालो लगायत खेतीका अन्य सामान माग्न आउनेको ताती नै हुन्थ्यो ।

हामीलाई समस्या भनेको खेतमा लगाउने पानीको, हलिको, र रोप्नेरीको (रोपाहारको) । हुनत बेलाबेलामा पानी लगाउन कुम्ठीको व्यवस्था गरेको हुन्थ्यो तर समस्या त्यहि त हो  । हुनेखानेलाई पहिले रोपाई गर्नुपर्ने । हाम्रा खेत छेउकुना भएकाले पालो सजिलै न आउने । त्यसमाथी पानी चोरेर हैरान । लगभग सबैजसो खेतका भित्तामा प्वाल पारेर आफ्नो खेत पुगुन्जेल पानी चिलिम । रोपुन्जेल रोपाईलाई पानी त्यसपछी धानलाई पानी । जे होस्, पिताजीले रातिराती गरेर अनिदो बसेर भनेपनी पानी लगाउनु हुन्थ्यो । रोपाईकै दिनमा हामीपनि ओहोरदोहोर गरेर पानीको व्यवस्था हुन्थ्यो । वरीपरीका २-४ खेत सङ्गै रोप्नेहरु मिलेर भएपनि पानीको व्यवस्था गरिन्थ्यो ।

दोश्रो ठूलो समस्या थियो हलिको । हुनत हाम्रोलागे भनेर हामीले एउटा इमान्दार दाइलाई यो जिम्मेवारी दिएका थियौं तर समस्या के थियो भने ती दाइले अरु दुइचार जनालाई पनि त्यस्तै वचन दिएका थिए । हामीले जति नै माया गरेपनि सेवा गरेपनी हुनेखानेहरु सङ्ग रोपाई जुधेपछी भने उहाँले भ्याउने कुरो थिएन । अनि विकल्प खोज्नै पर्थ्यो । त्यस्तो विकल्प खोज्ने माता बाहेक अरुको केही जोर नचल्ने । पिताजी सत्यबचन बोल्ने र अन्याय नसहने भएकोले अलिक कडा बोलिहाल्नुहुन्थ्यो । अनि चाप परेका बेलामा कडा बोलेर मात्रै पनि नहुने । हुनत हुनेखानेहरुले पिटि नै हाल्थे, तर हामी पिटाइसम्म पुग्न राम्रो मान्ने वा अर्को अर्थमा हिम्मतवाला परिवार परेनौ ।  त्यसैले हलीको व्यवस्था भएको दिन अर्को झर्को सकिन्थ्यो । मन नै सिइग्रो हुन्थ्यो ।

तेश्रो ठूलो समस्या हुन्थ्यो रोप्नेरीको (रोपाहारको)  । रोप्नेरीको लागि पर्म खुब चल्थ्यो । ठूलो परिवार हुने घरमा एकै घरमा ४-५ जना रोप्नेरी हुन्थे । लगभग सबैका २-३ बुहारी र २-३ छोरी पक्कै हुन्थे । तर हाम्रोमा माताजी बाहेक अरु कोहि थिएन । बहिनी सानै थियो । त्यतिबेला खोइ किन हो पुरुषले रोपेको देखिएन । त्यसैले रोप्न गाह्रो नहोस् भनेर माताजीले पर्म लगाइरहनुहुन्थ्यो । दाउराको, घासको, मल बोकेको, गोडेको र रोपेको समेत जोडेर रोप्नेरीको व्यवस्था हुन्थ्यो । कति कति समयमा त बल्ल (गोरु) को सट्टामा समेत रोप्नेरीको व्यवस्था गरेर काम चलाएको याद छ ।भन्नाले कुनै परिवारलाई एक दिन बल्ल (गोरु) जोत्न दिए बापत एक दिनको लागि एकजना रोप्नेरी (रोपाहार) ल्याउन पाइने ।

इमान्दार र सीप भएको मान्छे जसलाई पनि मन परि नै हाल्छ । रोप्नेरीको हकमा पनि पर्म लगाउन पर्‍यो भने त्यस्तै कुरो लागू हुने । छिटो रोप्ने, नठग्ने र बचन नतोड्नेलाई नै प्राथमिकता दिने चलन हुन्छ । हाम्रो माताजीलाई जहिल्यै प्राथमिकतामा राखिने हुनाले रोप्नेरीको पर्मको लागि खासै समस्या भएन ।

यी सब भैसकेपछि बल्ल रोपाई शुरु हुन्थ्यो । अघिल्लो दिन त रोपाइ हुने दिनको बिहान देखि माताजी बीउ निकाल्न बेन्ना (बेन्नु) जाने, पानी लगाउन पिताजी जाने । सबैलाई खाना अनि अन्नि (खाजा) बनाउने जिम्मा भने मेरो हुन्थ्यो । दिउँसो खेतका भिट्टामा बाउसो लगायो, भिट्टैमा ठुला भट्ट (सेतो भटमास) रोप्यो, बीउ सकिए पुर्‍यायो अनि बिगारो (खेत समाउने) लगाउने काम गर्‍यो ।

हरेक खेतको रोपाई शुरुगर्नु अघि एकजनाले ओर्सिने (सुरुवाती डाङ्लो रोप्ने) चलन हुन्थ्यो । ओर्सिने व्यक्ती छरितो रोजिन्थ्यो जस्ले गर्दा छिटो रोपाई सकियोस् भन्ने हुन्थ्यो । रोपाईको शुरुवात देखि अन्त्यसम्म बेलाबेला माँगल भन्ने चलन थियो । हुनत म त्यो लामो भाकामा गाइने र लगभग पुकारा पारिने हुनाले म त्यत्ती धेरै बुझ्दिन थिए तर सुन्दा रमाइलो लाग्थ्यो । त्यो खेतको रोपाई सकिने बेला मेलो मेट्ने काम हुन्थ्यो । खेतको क्षेत्रफल हेरेर भारी पुगेको भने खेतको बिचमा पुल्ती हाल्ने चलन हुन्थ्यो । पुल्ती भन्नाले बीउकै प्रयोग गरेर टाढै बाट चिनिने गरेर पुतलीको आकार जस्तो बनाएर रोप्ने हो । पुल्ती बनाउन बीउका मुट्ठा का मुट्ठा नै रोपिने हुनाले टाढैबाट देख्न सकिन्छ । प्रत्येक दिन ओर्सिने, मेट्ने र पुल्ती हाल्नेलाई विशेष खाजाको व्यवस्था हुन्थ्यो । पुल्ती हाल्नेको विशेष सीप नै हुन्छ । कत्रो र कुन डिजाइनको पुल्ती भन्ने पनि हुन्छ ।

सामान्यतया रोपाई एकछेउबाट शुरु भएर अर्को छेउसम्म पुग्दछ । रोपाई सकिने दिनलाई मैजारो गर्ने दिन पनि भनिन्छ । त्यो दिनको रमाइलो भने सम्झन लायक हुन्छ । सारा काम फत्ते गरेर सक्ने हुनाले खाजा पनि विशेष हुन्छ भने जस्तै अप्ठ्यारो काम पनि सजिलो लाग्द्छ ।

रोपाई सङ्ग जोडिएको अर्को महत्वपुर्ण चलन भनेको चोपाई हो । त्यतिखेर कसैको घरमा छोरो जन्मेमा या कसैको घरमा बिहे भएमा त्यो घरको सबैभन्दा ठूलो खेतको रोपाई सकेको दिनमा बेलुकी त्यही ठूलो खेतमा पुल्ती हालिसकेपछी दमाहा बाजागाजा सहित हिलोमा खेल्ने चलन हुन्छ । एकले अर्कोलाई हिलोमा चोपल्ने भएकोले चोपाई भनिएको होला । मलाई आफ्नै घरमा भएको चोपाईको भने याद छैन किनकी भाईको बिहे भएको बर्ष होस् कि भाईका छोराहरु भएका बर्ष हुन्, रोपाइमा म जुम्लामा पुग्न सकेको थिइन । तर उहिले उहिले मैले धेरैका खेतमा भएका चोपाई भने देखेको छु ।

हिजो पिताजी सङ्ग यी सबै बारे कुरो भयो । धेरै समयपछी समय मै रोपाई शुरु गर्न पाएकोमा पिताजी दङ्ग हुनुहुन्थ्यो । यो खेत हामीले जेष्ठ १६ गते रोपेको पहिलो पल्ट हो रे । आज सम्म चाडोमा जेष्ठ १८ गते र ढिलोमा जेष्ठ २६ गते सम्म रोपेको अनुभव रहेछ । “यो खेतमा पानी लगाउन खासै गाह्रो भएन रे । हेरौं बाकी खेतमा कस्तो हुन्छ ।” भन्दै हुनुहुन्थ्यो । यसपाली ज्यादै ढिलो गरि कुलो मर्मत भएछ । हुनत अप्ठ्यारा खेत त बाकी नै छन् ।

कृषि कर्म गर्न आवश्यक सीप आफै सङ्ग हुनै पर्ने भएको छ । किनकी मान्छे लगाउन ज्याला धेरै महङ्गो भएको छ रे । धेरै बर्ष जस्तो यसपाली।पनि हलिको काम भाइले आफै गरिदिएछ । त्यसैले कम्तिमा हलिको दु:ख भएन ।

कृषिको आधुनिकरण नहुन्जेल र त्यो सर्वसाधारणको पहुँचमा नपुगुन्जेल यो भन्दा सजिलो हुनेवाला छैन । हुनत केही आधुनिक औजार नपुगेका होइनन् तर हामी जस्ता साना किसानलाई उहिले सबै सर-सामान जोरजाम गरेर राखेजस्तो राख्न सम्भव पनि छैन । मुख्य पेसा कृषिले मात्रै पुग्ने पनि छैन, एकातिर खेत बाझो राख्नु छैन अनि अर्कोतिर दु:ख पनि घटेको छैन । कृषिले मात्रै घरपरिवार सबै पाल्न (पाल्न भनेर बिहान बेलुका खान मात्रै होइन है) सकिने अवस्था पनि छैन । सहकारीको अगुवाईमा कृषिको आधुनिकिकरण नहुन्जेल हामीजस्ता साना किसानले गर्ने खेती भनेको आफ्नो परम्परा धान्ने मात्रै हो ।

हेरौं, अर्को बर्ष केही नयाँ हुन्छ कि ?

लेखक- चन्दनाथ १० जुम्ला गैरागाउँका माधवराज न्याैपाने हाल जर्मन हुनुहुन्छ । उहाँ कर्णालीका समसामयिक बिषयमा बढी चाँसाे राख्नु हुन्छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker