कर्णाली करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बढी बजेट सुनिश्चित

कालीकाेट- कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु. चार अर्ब २३ करोड बजेट सुनिश्चित गरेको छ। कर्णाली करिडाेर दक्षिण खण्डकाे कालीकाेटकाे खुलालु देखि हुम्लाकाे सल्लीसल्ला सम्म सडक स्तर उन्नती गर्न मन्त्रालयले सो बजेट सुनिश्चित गरेको हो। ५० किलाेमिटर कालाेपत्रे सहित सडक स्तर उन्नती गर्ने बहुबर्षिय ठेक्का समेत भइसकेकाे छ । ०७१ सालमा खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको चट्टान सहितको असजिलो भागमध्येको १ सय ९६ किलोमिटर सडकको ट्याक खोल्ने काम नेपाली सेनाले गरेकाे थियो। नेपाली सेनाले ट्रयाक खोल्ने काम सम्पन्न गरी ०७८ असारमा सडक बिभागलाइ सडक हस्तान्तरण गरेकाे थियाे।
नेपाल-भारतको दक्षिणी सीमाक्षेत्र बाँके जिल्लाको जमुनाहदेखि नेपाल-चीनको उत्तरी सिमाक्षेत्र हुम्ला जिल्लाको हिल्सा जोड्ने कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ। तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४ सय १० किलोमिटर लम्बाइ छ। उत्तर दक्षिणका दुईवटा विशाल छिमेकी देश, भेरी, कर्णाली र सुदूरपश्चिम गरी तीनवटा प्रदेश र १२ वटा जिल्लालाई जोड्ने यो करिडोरले करिब २५ लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष रूपमा लाभ पुर्याउँछ । कर्णाली करिडोर स्तर उन्नती भएमा नेपालगन्जबाट उत्तरी सीमा बजार हिल्सासम्म करिब १२ देखि १४ घण्टामा पुग्न सकिनेछ।