रास्कोटमा इलाका प्रशासनका लागि स्वीकृती प्रदान

कालीकोट–कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेपछि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने पक्का भएको हो ।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश सभा निर्वाचन क्षेत्र नं ख का लागि रास्कोटमा इलाका प्रशासन कार्यालय बनाउन सुरु गरिएको छ ।
भौगोलिक बिकटता रहेको कालीकोटमा नागरिकता लगायतका सेवा लिन सदरमुकाम मान्म पुग्न त्यस क्षेत्रका नागरिकलाई कठिनाइ छ । जनगुनासो सम्बोधन गर्दै सरकारले इलाका प्रशासन कार्यालय स्थापनाको लागि स्रोत सुनिश्चित गरेको रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो ।
रास्कोटमा इलाका प्रशासन कार्यालय, नरहरिनाथ स्थित कोटबाडा विमानस्थल सञ्चालन, मान्म कोटबाडा केबुलकार वा लामो पुलको आवश्यकता रहेको कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्री संघिय सासंद माननीय महेन्द्र बहादुर शाहीले बताउनु भयो ।
रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको नगर प्रमुख शाहीले बताउनु भयो । उपप्रमुख मनिराज बरालले नागरिकता बनाउनकै लागि सदरमुकामपारिका करिब ७० हजार बासिन्दाले सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको सुनाउनु भयो ।
संघीयताको मर्म अनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागत योग्य भए पनि नरहरिनाथका नागरिकलाई रास्कोटभन्दा मान्म पायक पर्ने भएकाले सदरमुकाम बाटै नागरिकता लिने व्यवस्था हुनुपर्ने गाउँ पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनु भयो ।