पहिलाे चरणमा ३ हजार ८सय ८४ किशाेरीले एचपीभी खोप लगाए

कालीकोट– पहिलाे चरण अन्तरगत सुरु गरिएकाे एचपीभी खोप लगाउनेकाे सख्या ३ हजार ८ सय ८४ पुगेकाे छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतका अनुसार पाठेघरको मुखको क्यान्सर बिरुद्ध किशोरीलाई एचपीभी खोप लगाउने कार्य २२ गते बाट सुरु भएकाे छ । कक्षा ६ देखि १० सम्मका बिद्यालय जाने छात्रा र १० बर्ष देखि १४ बर्ष उमेर समुहका बिद्यालय नजाने छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउने अभियान देश भर सुरु भएकाे छ ।
पहिलो चरण अन्तरर्गत माघ २२ गते देखि २४ गते सम्म रास्कोट नगरपालिका, पलाँता, पचालझरना र सान्नीत्रिणेणी गाउँपालिकामा एचपिभी खोप अभियान संचालन भएकाे थियाे ।
त्यस्तै दोस्रो चरण अन्तरगत माघ २७ गते देखि २९ गते सम्म खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका र शुभकालीका गाउँपालिकामा खोप संचालन हुने छ । तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फाल्गुण ४ गते देखि ६ गते सम्म खोप संचालन हुने बताइएको छ । खोप कार्यक्रम संचालनका लागि १ सय ५२ स्वास्थ्य कर्मी र ३ सय ४ जना स्वयमसेवक फिल्डमा खटेका छन् । जिल्लाका १ सय ५२ वटा खोप केन्द्रहरु बाट ९ हजार २ सय ३८ किशाेरीलाइ एचपीभी खोप लगाउने लक्ष्य रहेकाे छ ।