मिति:- ३० फाल्गुन २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

१५ बुदे कालीकोट घोषणा पत्र जारी गर्दै युवा भेला सम्पन्न

जिल्ला युवा संजालको अध्यक्षमा-सत्य उपाध्याय

कालीकाेट- युवाको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चितताको मागसहित १५ बुदे कालीकोट घोषणा पत्र जारी गर्दै जिल्ला भेला सकिएको छ । सिर्जनशील तथा उद्यमशील किशोर किशोरी, राष्ट्र परिवर्तनका सम्बाहक भन्ने नारासहित मंगलवार सुरु भएको जिल्ला स्तरीय तेश्रो युवा भेला नयाँ नेतृत्वसहित युवाका सवालमा १५ बुँदे कालीकोट घोषणा पत्र जारी गर्दै बुधवार सकिएको हो ।

भेलाले रास्कोटकी सत्य उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय जिल्ला युवा संजालको गठन गरेको छ । संजालको उपाध्यक्षमा सान्नी त्रिवेणीकी भावना केसी, सचिव नरहरिनाथका तिलक विष्ट, सहसचिव रास्कोटका आकाश खड्का, कोषाध्यक्ष भविता साकी, सदस्यहरुमा तिलागुफाका नरेन्द्र बस्नेत, पचालझरनाका भावना बोहोरा, शुभकालिकाका तविन्द्र नेपाली, खाँडाचक्रका मीमवहादुर मल्ल, रास्कोटका विकास तिरुवा, भरत बुढा, कमल तिरुवा, सपना सिम्खाडा, दमनराज बराललगायत पदाधिकारी चयन भएका छन् ।

कालीकोटमा आयोजित युवा भेलाका अतिथिहरु

जिल्ला युवा संजालले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारमा गौरी कुमारी शाही, मोनिका बुढा, जेनी बम, खिमसरा सिम्खाडा र दिनका शाही रहेका छन् । युवाका सवालमा काम गर्न तीन वटै तहका सरकारको ध्यानाकर्षण सहित कालीकोट घोषणा पत्र जारी गरेको वरिष्ठ पत्रकार तथा किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले बताउनु भयाे ।

स्वदेशमै रोजगारी, गुणस्तरीय शिक्षा, अर्थपूर्ण सहभागिता कालीकोटका युवाले मुख्य सवालकारुपमा उठाएका छन् । उनले भने समाज परिवर्तनमा युवाको अगुवाई महत्वपूर्ण छ । समाजमा ब्याप्त हानीकारक सामाजिक अभ्यास (बालविवाह, बहुविवाह, जातीय तथा लैगिंक विभेद, लागू औषध दुब्र्यसन) विरुद्ध अभियान चलाउने जिल्ला युवा संजालले घोषणा गरेकाे छ ।

जिल्लाका ९ वटै स्थानीय तहबाट आएका ४५ जना युवा र ३० जना अन्य सरोकारवालाहरु सहभागी भेलामा जिल्ला समन्वय प्रमुख धनजीत वहादुर शाही, सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा, रास्कोट नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल, सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनवहादुर केसी, नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलकुमार शाह, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लालप्रसाद पोख्रेल, प्लानका क्षेत्रीय प्रबन्धक मीना पराजुली, कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतन वहादुर शाही, जिल्लामा क्रियाशील राजनैतिक दलका प्रतिनिधि, युवा नेताहरु लगायतका सरोकारवाला सँग युवाहरुले सवाल गरे, जवाफ मागे र सामुहिक प्रतिबद्धता लिदै कालीकोट घोषणा पत्र जारी गरेको आयोजक संस्था हुरेन्डेक नेपालका जिल्ला ब्यवस्थापक दिलिप कुमार शाहीले बताए ।

युवाहरु जागरुक हुदा विकास निर्माण र सुशासनका क्षेत्रमा सहयोग पुग्छ । उद्घाटन शत्रमा बोल्दै जिल्ला समन्वय प्रमुख शाहीले भने आफ्नै गाउँमा स्वरोजगार बन्न सबै युवा उद्यमी बन्नुपर्छ । शाहीले विगतमा ज्याला मजदुरीका लागि भारत मात्र जाने कालीकोटका युवाहरु पछिल्लो समयमा खाडी मुलुक लगायतका देशमा बैदेशिक रोजगारीका लागि मरिहत्ते गर्न थालेको सुनाउदै आफ्नै गाँउठाउमा बसेर कृर्षि कर्ममा लाग्न सुझाव दिए ।

स्थानीय तहका जनप्रतिनिधि, दलका प्रतिनिधि र जिल्लाका सरोकारवालासँग अन्र्तक्रियासहित युवाका सवाल र समाधानका उपायबारे समुहगत छलफल गर्दै कालीकोट घोषणा पत्र जारी भएको हो । जिल्ला समन्वय समितिको समन्वय, प्लानको सहयोग हुरेन्डेकको आयोजनामा सम्पन्न भेलामा किर्डाक नेपाल, सादा, जिल्ला युवा संजाललगायतले सहकार्य गरेको हुरेन्डेक नेपालका अध्यक्ष गौरीकुमारी शाहीले बताउनु भयाे । अध्यक्ष शाहीका अनुसार सशक्त बालिका परियोजनाले भेलाको ब्यवस्थापन गरेको हो ।

कालीकोटमा आयोजित युवा भेलाका सहभागीहरु

मान्मस्थित होटल सनलाइटको सभा हलमा आयोजित भेलाले युवाहरु लागू औषध दुब्र्यसनको कुलतबाट बचाउन जीवन उपयोगी सीप, उद्यमशीलता र स्वरोजगार बनाउन सबै स्थानीय सरकार, युवाका क्षेत्रमा काम गर्ने संघ संस्था र सरोकारवालाको ध्यानाकर्षण गर्नै पनि घोषणा पत्रमा उल्लेख छ ।
कालीकोटका युवाहरुले जलवायु परिवर्तनले परम्परागत रैथाने बालीमा प्रतिकूल असर गरेको ठहर गर्दै जलवायु परिवर्तनका असरसँग जुध्न वातावरण मैत्री, नीति निर्माण गरी हरित विद्यालय, हरित सडक र हरित गाँउको अवधारणमा काम गर्न अभियान संचालन गर्ने बाचा पनि गरेका छन् ।
कालीकोटका युवालाई उद्यमशीलतामा जोड्न एक गाउँ एक उत्पादन, विपद् ब्यवस्थापन, स्थानीय तहका सबै संरचनामा युवाको अनिवार्य सहभागिताको माग गर्दै विकास निर्माणमा युवालाई कामदारकोरुपमा मात्र नभएर नेतृत्व कर्ताकोरुपमा जिम्मेवारी दिनुपर्ने कुरा घाेषणा पत्रमा उल्लेख छन् ।

सबै स्थानीय तहमा युवा सम्बन्धी नीति, निर्देशिका, कार्यविधि तयार गरी बजेट र कार्यक्रम तय गर्नुपर्ने, युवा संजालको गठन गरी क्षमता विकास र सीपमूलक तालिमको ब्यवस्था हुनुपर्नेलगायतका विषय घोषणा पत्रमा समेटिएका छन् । युवा भेलामा काग्रेस, एमाले, माओवादी केन्द्रका प्रतिनिधिले युवाहरुका लागि आ आफ्नो दलको घोषणा पत्रमा उल्लेख भएका विषयबारे चर्चा गरेका थिए भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले पयआर्जन सहयोग गर्ने प्रतिबद्धता गरे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker