मिति:- २१ फाल्गुन २०८०, सोमबार | समय:-
ताजाखबरमुख्य खबरविचार

चमेलीको पिडा, तीलाको आक्रोस !

कालीकाेट- खोंचको विचबाट डुब्न लागेको सूर्य हेर्दै आरतीको तयारीमा थिइन् तीला । छ्वाप्ल्याङ्ग ! आवाजसहित एउटा वस्तु खस्यो उनको काखमा । अप्रत्यासित आवाजले उनी झस्किइन् । उनको अनिच्छित संगितमा अर्को कर्ड थपिएको महशुस भयो र उनी असमञ्जसमा परिन् ।
हठात् एउटा भुमरी सृजना गरिन् र त्यस वस्तुलाई निमेशभरमै दबाइ दिइन् ।श्रावणको बाढीले सृजित भेलमा । निकै तल पुग्ने गरी । पृष्ठभूमिमा सन्नाटा छाउने गरी ।
उनको हतारो हेर्दा लाग्थ्यो कि उनी त्यसैको पर्खाइमा थिइन् । उनी यसरी प्रशिक्षित छिन् कि कसैले नदेख्दै भेलमा दबाइ हाल्नु पर्छ । सायद यो उनको रीत हो । उनी यसैमा रमाउँदै आइरहेकी छिन् तर परिस्थिति भिन्न देखियो । उनी बेचैन भइन् । किनकी तीलामा निर्जिव र सजिवको भेद खुट्याउने क्षमता छ ।
यतिञ्जेल सम्म उनको स्मरणमा त्यो वस्तु चमेलीको जिउँदो शरिर ठहरिसकेको थियो । आंखा चिम्म गर्दै एकछिन सोचमग्न भइन् र आक्रोसित् हुँदै कराउन लागिन् । आज पनि मलाई आरती जगाउन दिएनौ हगि ?
उनी यत्तिमा रोकिइन् । दबिएको स्वरमा चिच्याउन लागिन् । मेरो इतिहास बिगार्ने तिमीहरु नै हौ । आफ्नो अस्तित्व जोगाउन नसक्ने अनि बारबार मलाई पापको भारी बोकाउने ?आफूलाई धर्तीको सर्वश्रेष्ठ प्राणी ठान्छौ तर तिमीहरुको चेतना यहि हो त ? समग्र मानव जातीलाई उनी बेपर्वाह गाली गर्न लागिन् ।

यसैबिच नेपथ्यमा बालिका च्यांठ्ठिएको आवाज गुञ्जियो । चमेलीकी छोरीको आवाज थियो । भिमकाय पहाडमा ठोकिएर उनको आवाज निकै लामो समयसम्म प्रतिध्वनित भइराह्यो । तीलाले उक्त आवाजलाई पछ्याउन लागिन् । उनको स्मरणमा साथमा अर्की सानी नानी र कुप्री परेकी बुढी आमा समेत देखा परिन् ।
उनमा असह्य पिडाबोध भयो । दुबै हात टाउकोमा राखिन् र बरबराउन लागिन् ।
हे चमेली! मैले थाहा पाएँ कि तिम्रो गोठभरी भोका पशु छन् । कतिवेला आमा आई माम पकाई खुवाउनु हुन्छ भन्ने आशामा दैलो कुरी बसेका तिम्रा लालाबाला पनि छन् । तिमीहरुको भविष्यको सुखको लागि मुगलान पसेका तिम्रा मालिक कहिले दशै आउला र घरमा फर्कि जाउँला भनेर पर्खिरहेका छन् । अधबैंशे उमेरमै श्रीमानले छोडी गएकी तिम्री बुढी सासु आमालाई तिम्रो स्याहारको खाँचो पनि छ । उनी भावुक हुदै चमेलीलाई सम्झाउन लागिन् ।
कति बेहोसी भाकी तिमी ! तिम्रो घाँसको भारी तिमी हिड्ने बाटोमा अटाउँदैन भन्ने पनि हेक्का गरिनौ । अनि सुन, म त्यति अकल्पित छैन जति वर्षाको खहरे छ । मेरो स्वर त्यति कर्णप्रिय छैन जसमा तिमी बहकिन सक्छौ । मेरो संगित त्यति सुमधुर छैन जसमा तिमी बगिरहन सक्छौ । मेरो शब्द त्यति ओझिलो छैन जसले तिमीलाई बहकाउन सक्छ ।  अनि म यति बिरानो पनि त छैन जसलाई तिमीले आफ्नो स्मरणबाट हटाउन सक्छौ ।
केहि सम्हालिदै भन्द लागिन् । तिमी मेरो साथमा आइहाल्यौ । अब फर्किन पनि सक्दिनौ । अरुलाई भने मेरो काखमा नआउनु भन है । म चाहन्छु, मेरो स्वासले कसैलाई नभेटोस् । मेरो कर्कस संगितले कसैलाई आकर्षित नगरोस् । अनि मेरो बिरक्तीको भाकामा कसैले आनन्द नलियोस् ।
मलिन आवाजमा यति भन्दै तीला शान्त भईन् । उनको आवाज त्यही कर्कस ध्वनीमा बिलाउँदै गर्दा अघिको त्यो वस्तु (चमेलीको मृत शरिर) केहि पर बग्दै गरेको देखा पर्यो । यति बेला सम्म नदी किनारामा केहि मानिसहरु भेला भइसकेका थिए । सबैको ध्यान शवलाई पाखा लगाउने र  रीतपूर्वक नष्ट गर्न मै केन्द्रित रह्यो ।
परिवारमा चमेलीको अभाव त कसले पूर्ति गर्न सक्थ्यो र ! फगत आश्वासनका शब्दहरुले घटना प्रभावितको मन शान्त गराउन भने म पनि सामेल भएको थिएँ । राती सपनामा ऐंठन भयो । रातभरी तीला आइरहिन् मेरो स्मरणमा । अनि रातभरी नै मलिन आवाजमा उनको चिन्ता र बाध्यता सुनाइरहिन् ।
बाटो गहिरिंदै जाँदा बढेको खोंचसँगै चट्टानबिच उनको स्वर भासिएको रहेछ । कोइली झैं मधुर धुनमा सुसेल्ने उनको चाहना सदियौंदेखि दबिएकोमा उनी दुःखी रहिछन् । अस्वाभाविक भु–बनोटले उनको मधुर स्वरमा अप्राकृतिक रिमिक्स गरेकोमा असन्तुष्ट उनले आफ्नै स्वरमा पहिचान स्थापित गर्दै निस्फिक्री गाउने चाहना राखेकी रहिछन् । यस्तो परिवेशले आफ्नो एकल गायनलाई प्रतिबन्धित गरेको कुण्ठा पालेर बसेकी उनले न्युनतम् मानवीय सचेतना समेत नदिई आफूलाई पापको भारी बोकाएकोमा गम्भिर असहमति रहेको कुरा दर्शाइरहिन् ।

जयश्वर रिमाल

राष्ट्रसेवामा कार्यरत जयश्वर रिमाल शान्ती सुरक्षा र पर्यटन प्रर्वद्धनका क्षेत्रमा कलम चलाउनु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker