रोजगारदाता र काम खोज्ने श्रमिकका लागि‘श्रम संसार पोर्टल’ सुरु

कालीकाेट- श्रम बजारमा रोजगारदाताले चाहेको श्रमिक भेट्दैनन् । बेरोजगार युवाले रोजगारदाता भेट्न झन मुस्किल पर्छ । यही समस्या हटाउन सरकारले बिहीबारदेखि ‘श्रम संसार पोर्टल’ सुरु गरेको छ । रोजगारदाता र काम खोज्ने श्रमिकलाई एकै ठाउँमा भेट गराने उदेश्यले याे पाेटल संचालन गरिएकाे हाे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम बजारमा प्राप्त हुने रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउन पोर्टलकाे सुरुवात गरेको हो । यो सूचना प्रणालीमा संघ, प्रदेश तथा स्थानीय सरकार, रोजगारी खोजी गर्ने श्रमिक, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार र श्रम बजारका अन्य सरोकारवाला निकायलाई आबद्ध गरिनेछ ।
श्रम मन्त्रालयका अनुसार स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवाको संख्या ७ लाख ५७ हजार ७ सय २५ छ । जसमध्ये महिला ४ लाख ४९ हजार ३ सय ८७ छन् । उनीहरू प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन सूचीकृत भएका हुन् । ती सबैलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार दिन सक्ने अवस्था छैन । उनीहरू रोजगारदाताको खोजीमा छन् ।
यहाँबाट हेर्नु हाेस् https://shramsansar.gov.np