मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

आँखा उपचारले ल्याएकाे खुसी

कालिकोट — खाडाचक्र–३ ताडीकी ८० वर्षीया मोतिकला पाण्डे आँखा देख्न छाडेको ३ वर्षपछि पुनः ज्योति पाएपछि खुसी छिन् । नातिनी कल्पनाको सहारामा सदरमुकाम मान्म पुगेकी पाण्डे मोतीबिन्दुको शल्यक्रियापछि आँखा देख्न सक्ने भएकी हुन् ।

‘आँखा नदेख्दा संसारै अँध्यारो थियो,’ उनले खुसी हुँदै भनिन्, ‘फेरि देख्न सक्ने भए, नयाँ जीवन पाएजस्तो भएको छ ।’ उनी आँखा देख्ने भएपछि मंगलबार लौरो टेक्दै घर फर्किन् ।

नरहरिनाथ–१ कोटवाडाका ७८ वर्षीय नरबहादुर बिष्टका दुवै आँखा बन्द भएको दुई वर्षपछि पुनः ज्योति फर्किएको छ । ‘आँखाभन्दा ठूलो केही रहेनछ,’ उनले भने, ‘ज्योति फर्काउने डाक्टरलाई भगवान्ले रक्षा गरून् ।’ तिलागुफा–१ मेहेसेराकी ७५ वर्षीया भवी महताराले पनि मान्मको शिविरमा पुनः दृष्टि पाइन् । ४ वर्षअघिसम्म धमिलो देखिने आँखामा समस्या आएर दुवै आँखा देख्न छोडेकी भवीले एक आँखाको गत वर्ष जुम्लामा शल्यक्रिया गराएकी थिइन् भने अर्को आँखाको यस पटक ज्योति फर्किएको छोरा मायालाल महताराले सुनाए ।

आँखा देखेपछि वृद्धाले खुसी हुँदै शल्यक्रिया गर्ने डाक्टरलाई स्थानीय लवजमा आशिष दिइन्, ‘तम्मो (तपाईंको) सधैं भलो होस् ।’ मान्ममा शिविर सञ्चालन हुँदा आँखाको उपचारका लागि जिल्ला बाहिर जानुपर्दा खेतपाखो बेचेर जानुपर्ने बाध्यता हटेको शुभकालिका ६ का ७६ वर्षीय नयाँ दमाईले बताए । उनले पनि शिविरमा निःशुल्क उपचार पाएका छन् ।

नेपाल नेत्र ज्योति संघ कालीकोटको संयोजनमा हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोगसहित शिविर सञ्चालन गरेको हो । यो कालीकोटमा सञ्चालित ३६औं शिविर भएको संघका सभापति खाडानन्द पाण्डेले बताए । कालीकोटको नरहरिनाथको कुमालगाउ, रास्कोकोटको सान्तीघाट, पलाताको थिर्पु, शुभकालिकाको सुकाटिया, महाबैको पादमघाट र तिलागुफाको खल्लागाड गरी ६ ठाउँमा मोतीबिन्दुको छनोट शिविरमा आएका १ हजार ७८ जनामध्ये २ सय २९ जना जिल्लाको शिविरमा रेफर भएकामध्ये १ सय ९२ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र मान्ममा प्रमुख डबल अधिकारीले बताए ।

आयोजना गरेको शिविरमा निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति संघ कालीकोटका सभापति खाडानन्द पाण्डेले बताए । उनले कालीकोटमा सञ्चालित ३६ औं शिविर समापनमा बोल्दै भवन, शौचालय, खानेपानीसहितका पूर्वाधार निर्माणमा पहल गर्न कर्णाली प्रदेश सांसद दुर्गाबहादुर रावतलाई आग्रह गरे ।

  • पत्रकार पाण्डे कान्तिपुर जिल्ला सम्बाददाता हुनुहुन्छ । हामीले याे खबर कान्तिपुर अनलाइनबाट लिएका हाै‌ ।

तुलाराम पाण्डे

वरिष्ठ पत्रकार तुलाराम पाण्डे कालीकोटमा बसेर मानवअधिकार, शान्ती र विकासका सवालहरुमा कलम चलाउनु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button