मिति:- ५ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरविचारसमाजस्थानीय

नेपाली पत्रकारितामा घुसेको राजनीति

सुर्खेत-  नेपालमा राजनीति र पत्रकारिता दुबै एक रथ का दुई पाँग्रा जस्तै हुन भन्न सकिन्छ । किनकि यी दुबै ले खबदारी सहित दल र त्यसका नेताका त्रुटि कमजोरी औंल्याएर सही बाटोमा हिँडाउने काम पत्रकारिताको हो भन्ने बुझेर आममानिस अहिले नेतासँगै पत्रकारितासँग पनि असन्तुष्ट छन्।

एउटा साक्षर पढे लेखेको वा कसैसँग आफू पत्रकार भएको परिचयसहित कुरा गर्न थाल्नु भयो भने प्राय असन्तुष्टि र आक्रोसको भुमरीमा पर्ने सम्भावना हुने गर्छ। मानौँ दलका नेताहरू काम गर्नु अघि पत्रकारसँग परामर्श लिएर गर्छन् वा त्यसो नगरे पहिले पहिले प्राथमिक विद्यालयको शिक्षकले गल्ती गर्ने विद्यार्थीलाई गरे जस्तो पत्रकारले नेतालाई कान समाएर उठबस गराउन सक्छ वा कुखुरो बनाएर सबैसामु लडाउन सक्छ।

दलका नेता उनका कार्यकर्ताका मालिक सरह हुदै गएका छन्। स्वतन्त्रताका लागि दलमा लागेका कार्यकर्ता उनकै नेतासँग खुलेर बहस गर्न सक्दैनन। सर्वभौम भनिएका जनताको पाँचबर्षमा एकपटक नेतालाई ठिङ्याउने पालो आउँछ त्यसमा पनि ढाँटढुँट पारेर मत आफ्नो पोल्टोमा पार्छन् र भोलिपल्टैदेखि ठालु बन्ने गरेको तीतो यथार्थ सबैसामु छर्लङ्ग छ।

स्वास्थ्य शिक्षा खानेपानी खाद्यान्न निर्माण सामग्री जस्ता साधारण देखिने तर मानव जीवनका अपरिहार्य कुरामा भइरहेको खेलवाडबारे पत्रकारले केही लेखिदिउन बोलिदिउन वा केही देखाइदिउन् भन्ने सबैको स्वाभाविक चाहना हुन्छ।
राष्ट्रको कोष, प्रहरी प्रशासन, अवसर सबै पालोफेरो मूल नेताहरूका हातमा हुने गर्छ। त्यसको उपयोग दुरुपयोग सबै उनिहरूमै निर्भर रहन्छ।

जनताले तिरेको करको दुरुपयोग मात्र होइन उद्योगी व्यापारी साहु महाजनबाट अनुचित र अपारदर्शी लाभ लिएर नेता र तिनका कार्यकर्ताले त्यसबापत उनीहरूलाई दिने सहुलियतको मार बजार मूल्यवृद्धि विकास निर्माणमा ढिलाइ राजश्वमा हानी जस्ता कुराले राष्ट्रघात नै भइरहेको हुन्छ।

यी र यस्ता सबै कामको अनुगमन मूल्याङ्कन गरेर राजहाँसले गरे जस्तो दूधको दूध पानीको पानी जनसमक्ष पस्किने काम पत्रकारिताको हो भन्ने अपेक्षा गरिन्छ।

यथार्थमा त्यस्तो नपाएपछि सञ्चारका आम उपभोक्ताको स्वाभाविक आलोचना गुनासो र आक्रोश पत्रकारितातर्फ सोझिनु एकदम जायज छ।

यति मात्र होइन बजार अर्थतन्त्र र उपभोक्तावादले समाजलाई गजबसँग प्रभावित गरिरहेको छ। यस बेला हामीले उपभोग गर्ने हरेक सामान र लिने सेवाको गुणस्तरप्रति सञ्चारजगतको चासो र अग्रसरता कम मात्र गएको देखिन्छ।

स्वास्थ्य शिक्षा खानेपानी खाद्यान्न निर्माण सामग्री जस्ता साधारण देखिने तर मानव जीवनका अपरिहार्य कुरामा भइरहेको खेलबाडबारे पत्रकारले केही लेखिदिउन् बोलिदिउन् वा केही देखाइदिउन् भन्ने सबैको स्वाभाविक चाहना हुन्छ।

अपवादबाहेक नेपालका सरकारी कार्यालयले दिनुपर्ने सेवा असहज छ। सामान्य नागरिक त के आफूलाई पढेलेखेको भन्ने मानिस पनि सरकारी कार्यालय गएर सजिलै काम हुन्छ भन्ने कुरामा विश्वस्त हुनसक्ने अवस्था छैन। भनसुन बिचौलिया घुस वा अन्य प्रलोभन नभए सरकारी र अर्धसरकारी कार्यालयमा काम हुँदैन।

पछिल्लो समय टेलिकममा जस्ता निजी क्षेत्रको प्रतिस्पर्धामा गएका संस्था र निकायमा केही सुधार भए पनि विद्युत् प्राधिकरण खानेपानी जस्ता कार्यालयमा काम लिन गाह्रो छ। मालपोत नापी यातायात व्यवस्था कार्यालय मात्र होइन प्रहरीका निकायको जालझेल, जिल्ला प्रशासनको रवाफ र उनीहरूको कानुनी उल्झन जोसुकैले बुझ्नै सक्दैन।

अहिलेको समाजमा सञ्चार प्रविधिले जति सम्पन्न छ, सुचनाको भोक पनि त्यति नै छ। आफ्नो परिवेश नजिकको समाज र देशसँगै मानिस विश्व, विश्व ब्रह्माण्डसम्मको जानकारी चाहन्छ।

आफ्नो पहुँचभन्दा बाहिरका कुरा आमसञ्चार जगतले पस्किदियोस भन्ने उसको चाहनामा त्यसबेला पानी खन्याए जस्तो महसुस गर्छस जब आफ्नै वरिपरिका समस्यामा पत्रकारिता चुप लाग्छ पत्रकार चुप लाग्छ। पत्रकारले लेखे बोले वा देखाए पनि यथार्थसँग मेल नखाएको बुझेपछि पत्रकार र पत्रकारिता प्रतिको असन्तोष झनै आक्रोस चुलिन्छ।

पत्रकारिताले बन्दुक त बोक्दैन दुनियाँमा। तर, पत्रकारिताका बलले विश्वमा धेरै क्रान्ति र परिवर्तन सम्भव भएका छन्। पत्रकारिताले संयुक्त राष्ट्र संघको जस्तो मध्यस्थता पनि गर्दैन। तर पत्रकारिताका कारण द्वन्द्वरत पक्षहरू बीच मध्यस्थता भएका छन्। पत्रकारिताले अदालतको जस्तो इजलास राख्दैन तर पत्रकारिताका कारण न्यायका काम भएका छन्।

पत्रकारिताले पूजापाठ भागवत बाचन वा देवताका नाउँमा कीर्तन गर्दैन तर पत्रकारिताका कारण धेरै धर्मका काम भएका छन्। पत्रकारिताले कृषि उद्योग व्यापार गर्दैन तर पत्रकारिताका कारण आर्थिक उन्नतिका काम भएका छन्। तर अहिले नेपाली पत्रकारिताले यो बुझेको देखिदैन आफैं नबुझेपछि अरुलाई बुझाउन सक्ने त कुरै भएन।

भोकाहरूले खान, नाङ्गाहरूले लाउन र उपचारका लागि छटपटाइ रहेकाले पत्रकारिता कै कारण उपचार पाएका छन्। पत्रकार कुलो खन्न नगए पनि पत्रकार ले लेखिदिएका कारण किसानले सिंचाइ पाए। सडक पुल बनाउन जाँदैन पत्रकार तर उसले लेखेका कारण सडक पुल बनिएका छन्। जनताले सुविधा पाएका छन्।

दुनियाँमा पत्रकार पत्रकारिताको महत्वका बारेमा जतिधेरै बखान व्‍याख्या प्रशंसा गरिएका छन् उति नै आलोचना र गाली पनि गरिएको छ। पत्रकार कुनै पक्षको हुनसक्छ, तर पत्रकारिता सधैँ निष्पक्ष हुनुपर्छ भन्ने मान्यताबाट पनि हेर्ने गरिन्छ।

तर, स्वयं कर्ता नै पक्ष विपक्षमा भइसकेपछि उसबाट संप्रेषित समाचार निष्पक्ष शुद्ध सन्तुलित र नैतिक हुन सक्दैन भन्ने कोणबाट व्याख्या गर्नेहरू पनि उति नै छन्।

वर्तमान अवस्थामा मुलत पश्चिमा देशका तुलनामा नेपाल जस्ता विकासशिल राष्ट्रहरूमा पत्रकारिता शुद्ध, सन्तुलित, विश्वसनीय, शिष्ट, नैतिक र स्वच्छ, निष्पक्ष, यथार्थ, सन्तुलित, स्वतन्त्र छैन भन्ने प्रचार पनि कम छैन। तर स्वयं पश्चिमा देशका प्रमुख अखबार टेलिभिजनले बेलबखत कसको पक्षमा काम गर्छन् भन्ने पनि छर्लङ्ग छ।

हाम्रो पत्रकारितामा पक्षधरता मात्रै पनि समस्या होइन। समस्या त शैली र सीपको हो।

जगदिशनाथ याेगी

लेखक जनपत्रकार संगठन नेपाल केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button